
तुल बहादुर कवँर मगर
भालुबाङ, १३ पुस ।
राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभएको छ। शनिबार राप्ती गाउँपालिका–२ लालमटियामा रहेको गोरखा आइडियल स्कूलले वार्षिक कार्यतालिका अनुसार आयोजना गरेको खेलकुद सप्ताहको समापन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले खेलकुद पनि शिक्षाको अभिन्न अङ्ग भएकाले खेलकुदलाई शिक्षासँग जोडेर लैजानुपर्ने बताउनुभयो।
विद्यालय तहदेखि नै विद्यार्थीलाई राम्रोसँग प्रशिक्षित गर्नसके राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने अध्यक्ष विष्टले विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै अध्यक्ष विष्टले विद्यालय जीवनमा पढाइ सँगसँगै खेल र सिर्जनात्मक गतिविधि अत्यन्त महत्वपूर्ण रहने बताउँदै खेलकुद सर्वसाधारणका छोराछोरीको अधिकारको विषय बनाइनुपर्नेमा जोड दिनुभयो।
नर्सरी देखि १० कक्षा सम्मका विद्यार्थीहरुले भाग लिएको खेलकुद सप्ताहमा २५ भन्दा बढी खेलकुद समावेश गरिएको स्कुलका प्रधानाध्यापक बसन्त पुनले जानकारी दिनुभयो । प्रतियोगिताका बिजेता खेलाडी विद्यार्थीहरुलाई शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
गोरखा ग्रुपका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गोरखा ग्रुपका शिक्षा निर्देशक दुर्गा बहादुर केसी,गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीका उपाध्यक्ष डोर बहादुर जिसी,राप्ती गाउँपालिकाका कार्यपालिका सदस्य रण बहादुर पुजाली,निल सागर सेवा आश्रमका केन्द्रीय अध्यक्ष सरिता खनाल,अभिभावक श्यामलाल बराल,पत्रकार महेश रिजाल लगायत शिक्षक,विद्यार्थी र अभिभावकहरुको उल्लेख सहभागीता रहेको थियो ।



लाइभदाङ । १३ पुष २०८१, शनिबार २१:०८ बजे