तुलसीपुर
१९ मङ्सिर / लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्यान राज्यमन्त्री विमला कुमारी खत्री(वली) ले पश्चिम दाङका बिभिन्न योजनाहरुको अवलोकन गर्नुभएको छ । पश्चिम दाङको शान्तिनगर, दंगीशरण, बबई र तुलसीपुरका बिभिन्न स्थानमा पुगेर त्यहाँको विकास निर्माणको अबस्था र आबश्यक थप विकासको पहलकालागि अवलोकन गर्नुभएको हो ।
उहाँले शान्तिनगर गाउँपालिका वडा नं. ५ मा प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सभाहलको अवलोकन गर्नुभएको छ । सोही सभाहल निर्माणको काम तिब्रगतिमा अघि बढिरहेको छ । त्यस्तै दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित बागरमा रहेको १५ सैयाको अस्पतालको पनि अवलोकन गर्नुभएको छ । सोही अस्पतालाई प्रदेश सरकार मातहत लैजाने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
त्यस्तै दंगीशरण गाउँपालिका वडा नं. ५ स्थित स्वास्थ्य चौकी र वडा नं. ७ को आधारभूत स्वास्थ्य केन्द्रको पनि अनुगमन गर्नुभएको छ । त्यस्तै शान्तिनगर गाउँपालिका वडा नं. २ मा बन्दै गरेको १५ सैयाको अस्पतालको अनुगमन गर्नुभएको छ । अस्पतालकालागि पिल्लर तयार गरिएको छ । अन्य काम जारी रहेको छ ।
त्यस्तै बबई गाउँपालिकाको वडा नं. २ स्थित ठूलाचौर–घुरिन्डाडा (सीतापुर) जोड्ने पुल निर्माण स्थलको पनि अवलोकन गर्नुभएको छ । सोही स्थानमा पुल निर्माणको काम केही समयमा सुरु हुने राज्यमन्त्री वलीले बताउनुभयो ।
त्यस्तै बबई गाउँपालिका वडा नं. ३ हंसपुरमा निर्माण हुन लागेको १५ सैयाको अस्पताल निर्माणको काम पनि अवलोकन गर्नुभएको छ । जुन अस्पताल सिलन्यास भएको लामो समय बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन । अहिलेसम्म पिल्लर समेत राख्न नसकिएको राज्यमन्त्री वलीले बताउनुभयो । साथै सोही वडाको हंसपुर माविको पनि अलवोकन गर्नुभएको छ ।
लाइभदाङ । १९ मंसिर २०७८, आईतवार १४:०१ बजे