गाउँमै विषेशज्ञ डाक्टर पुगेपछि नागरिक खुशी

निरला अर्याल
गंगटे, ७ पुस ।
दाङको कर्णली भनेर चिनिने बबई गाउँपालिकाको वडा नम्बर १ मा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा २ सय बढी बिरामीले निःशुल्क स्वास्थ्य जाँच गराएका छन् ।

बबई गाउँपालिका-१ निवासी ९० वर्षीय शिला थापालाई शरीरमा समस्यै समस्या छ तर अहिलेसम्म अस्पताल जानु भएको छैन । शरीरमा जस्तो सुकै दुखाइ भएपनि गाउँघरको औषधि उपचार गरेर रोग निको भएको विश्वास छ ।

घरको आर्थिक अवस्थाले अहिले पनि अस्पताल जाने अवस्था छैन् । आफ्नै घर नजिक डाक्टर आउँछन् भन्ने सुनेर जाँच गराउन आएको थापाले बताउनुभयो ।

निःशुल्क शिविर हुने ठाउँमा करिब डेड घण्टा हिँडेर उपचार गर्न आउनु भएका ६० वर्षीय पिउबर कुवर र उहाँको ५५ वर्षीय श्रीमती भूमिसरा कुवरको समस्या झन् जटिल छ ।

पिउबरलाई पिसाब लाग्न छोडेको हप्तौं दिन भयो । खाना नखाएको त झन धेरै दिनभयो । शरिरमा नदुख्ने ठाउँ कतै छैन । कहिले खुट्टाको दुखाइले हिँड्न सक्नु हुन्न त कहिले ढाडको समस्याले बसेको ठाउँबाट उठ्न गारो हुन्छ ।


विगत ८/९ वर्ष देखि गाउँघरमा घरायसी औषधिको भरमा बस्नु भएका पिउबर कुवर र उहाँको श्रीमती गाउँघरमा स्वास्थ्य जाँच गराउन पाउँदा हर्षित छन् । ‘हाम्रो लागि भगवान भनेको डाक्टर हुन् ।’ कुवर दम्पतिको भनाई छ ।

रोटरी क्लव अफ तुलसीपुर सिटीको आयोजना तथा तुलसीपुर सिटी हस्पिटलको प्राविधिक सहयोगमा बबई–१ गंगटेको आधारभूत जनता माविमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा पुग्नुभएका बबई–१ का ८० वर्षीय नाइने बोरेनीलाई सास फेर्न गाह्रो हुन्छ । दमको रोगले च्यापेको धेरै वर्ष भयो । वर्षौं देखि रोग पालेर बस्नु भएकी बोरेनीले निःशुल्क स्वास्थ्य शिविरमा चेक जाँच गराउनुभयो । औषधि पाएपछि अब बाँच्छु होला भन्दै खुसीसाथ घर फर्किनु भयो ।

स्वास्थ्य क्षेत्रमा पहुंच नपुगेका बस्ती तथा निम्न वर्गका नागरिकलाई लक्षित गरेर विशेषज्ञ सेवा सहित शिविर सञ्चालन गरिएको रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष विनिल केसीले बताउनुभयो ।

शिविरमा २१२ जना बिरामीहरूलाई सेवा लिएका छन् । पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ । शिविरमा वरिष्ठ फिजिसियन, हाडजोर्नी विशेषज्ञ र स्त्रीरोग विशेषज्ञ लगायतका चिकित्सकहरुबाट बिरामीको स्वास्थ्य परिक्षण गरिएको छ ।