दाङ, पुस । तुलसीपुर–६ की देवका शर्मा र बीरवल शर्मालाई व्यवसाय दर्ताका लागि सिफारिस लिनुपर्ने भयो । तर सिफारिस लिन वडा कार्यालयमै पुगेर पालो कुर्नुपर्ला भन्ने चिन्ता थियो शर्मा दम्पत्तीलाई । कागजात बोकेर वडामा जानुपर्ने झन्झट भइरहेका बेला व्यवसाय दर्ता अनलाइनबाटै गर्न सकिने खबर कानसम्म आइपुग्यो । सोहि अनुरुप वडाबाट अनलाइनबाटै सिफारिस बनाए । अनलाइनबाट ई–सिफारीस लिने देवका र बीरवल तुलसीपुरको पहिलो सेवाग्राही हुन् । ‘अनलाइनबाट धेरै सजिलो भयो’ देबकाले भनिन्,‘५ मिनेटमै मेरो काम सकियो, जमाना अनुसारको प्रबिधि गज्जब लाग्यो । प्रविधिको सदुपयोग गर्न सके डिजिटल युगमा सुविधा पनि उत्तिकै छ ।’
तुलसीपुर उपमहानगरपालिकालाई पेपरलेस उपमहानगर बनाउने नीति अनुरुप वडा नम्बर ६ बाट ई–सिफारिसको काम सुरू भएको छ । अब नागरिकले आफुलाई आवश्यक परेका कुनैपनि कागजात अनलाईनमा प्रक्रिया पूरा गरेपछि मोबाईलबाटै सजिलै प्राप्त गर्न सकिने वडाध्यक्ष दुजमान भण्डारीले बताए । ‘इ सिफारीस सेवाका लागि मोवाईलको प्ले स्टोरमा गएर तुलसीपुर एसएमएस एप्लिकेसन डाउनलोड गरेर सेवा लिन सकिन्छ ।’ उनले भन्ने,‘सेवाग्राहीले आफुलाई आवश्यक परेका पञ्जिकरण (जन्मदर्ता, विवाह दर्ता,बसाइँसराइ,मृत्यु दर्ता) वाहेकका सबै सेवा अनलाइनबाट लिन सक्छन ।’ यो सेवाले पालिकालाई पेपरलेस बनाउने अभियानलाई सहयोग पुग्ने वडा अध्यक्ष भण्डारीले बताए । तुलसीपुर उपमहानगरपालिकाका सूचना प्रबिधि अधिकृत सविन केसीका अनुसार ई–सिफारिस सेवा लिन सबैभन्दा पहिला मोवाइल एप्स डाउनलोड गर्नुपर्ने हुन्छ । डाउनलोड गरेर रजिष्टे«शन गरिसकेपछि चाहिएको सिफारीस लिन आवश्यक कागजात अपलोड गरेर निवेदन दिन सकिने छ ।
सोही निवेदनका आधारमा कागजात सहि छ वा छैन भन्ने विषयमा हेर्ने जिम्मेवारी सम्बन्धित वडाको सचिवलाई प्रदान गरिएको छ । तर,वडाध्यक्षले पनि हेर्न सक्ने व्यवस्था मिलाइएको केसीले बताए । ‘कागजात अपुग भएमा थप गर्न र प्रक्रिया मिलेको खण्डमा राजश्व बुझाउने सूचनाको सन्देस सेवाग्राहीको मोबाइलमै आइपुग्नेछ ।’ यनले भने,‘त्यसपछि सेवाग्राहीले राजश्व मोबाईलबाटै दाखिला गरेर भौचर अपलोड गर्नुपर्छ र प्राप्त फाईललाई सम्बन्धित वडा सचिवले सम्बन्धित वडा अध्यक्षलाई फरवार्ड गरिदिएपछि वडा अध्यक्षले ई–हस्ताक्षर गरेर सेवाग्राहीलाई फरवार्ड गर्नुहुन्छ ।’ उनका अनुसार सिफारिस प्राप्त भएको सूचना सेवाग्राहीलाई तत्कालै मोवाइलमा जानकारी हुन्छ । त्यसपछि मोवाइलमा डाउनलोड गरेर ई–सिफारिस प्राप्त गर्न सकिन्छ । ई–सिफारीस सुरू भएपछि देशका जुनकुनै ठाँउमा भएपनि सिफारीसकै लागि पालिका पुग्नुपर्ने समस्या सधैका लागि हटेको छ । वडा नम्बर ६ बाट सेवा आरम्भ गरिएको छ भने अन्य वडाहरुले पनि परिक्षण गरिरहेका छन् । सूचना प्रविधि अधिकृत केसीले तत्कालका लागि वडाबाट प्रदान गरिने ३४ प्रकारका सिफारिस अनलाइनबाटै प्राप्त गर्न सकिने बताए ।
अनलाइनमै घर नक्सा पास
तुलसीपुर उपमहानगरपालिकामा लागू भएको ई–घरनक्सापास सेवाले स्थानीय नागरिकलाई खुशी थपेको छ । विगतमा अनलाइन सेवा नहुँदा सेवाग्राहीका फाइल हराउने, फाइलिङ गरिएका कागजात सेवाग्राहीले भनेकै बेला खोज्दा नभेटिने, कतिपय झुट्टा विवरणहरू समेत पेश हुनसक्ने समस्या थियो । पहिले घर नक्सापासको काम गर्न सुरूमा फाईल बोकेर पालिकामा पुगेरै निवेदन दिनुपथ्र्यो । निवेदन दर्ता पश्चात सम्बन्धित वडा कार्यालयमा वडा सर्जिमिनका लागि फाइल बोकेर जानुपर्ने बाध्यता थियो । तर अहिले त्यो समस्या हटेर गएको छ । घर नक्सापासको सबै काम अनलाइनबाटै हुने भएपछि समय र पैसाको बचत भएको सेवाग्राही पुर्णबहादुर बिष्टले बताए । ‘पहिलेको प्रक्रिया अनुसार वडामा सर्जिमिनमा पुग्दा समेत घरको डिजाइन र तलाको समेत एकिन भैसकेको हुदैनथ्यो ।’ उनले भने,‘तर अहिले डिजिटल सिफारीसमा सबै भन्दा पहिला घर निर्माणका लागि नक्सा तयार गर्नुपर्छ ।’ सोहीबमोजिम घरको आकार र कति तलाको बनाउने भन्ने विषयमा पूर्व तयारीका लागि सजिलो हुने गरेको सेवाग्राही तुलसीपुर–१८ का झविलाल घिमिरेले बताए । विष्ट र घिमिरे प्रतिनिधिमूलक पात्र भएपनि तुलसीपुर उपमहानगरपालिकामा आर्थिक वर्ष २०७७/७८ को पुसबाट सुरू भएको अनलाइन घर नक्सा पास सेवाले झोलामा कागज बोकेर कार्यालय धाइरहनुपर्ने बाध्यता पूर्णरूपमा हटेर गएको छ ।
लाइभदाङ । २ पुष २०८१, मंगलवार ०९:५९ बजे