तुलसीपुर, २८ मंसिर । दाङको तुलसीपुरमा प्रथम नेवारी खाना महोत्सव सुरु हुँदै छ । नेवारी समुदायको खाना, संस्कृति, परम्पराको संरक्षण गर्दै पछिल्लो युवा पुस्तालाई सहभागी गराउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको नेवा राष्ट्रिय मञ्च तुलसीपुरका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा बारा, यःमरी, छोयला, सःगती, आलु तामा, बोजी लतामरीलगायतका खानाका परिकाहरु मुख्य आकर्षको रुपमा राखिने आयोजकले बताएको छ । पहिलो पटक तुलसीपुरमा आयोजना गर्न लागिएको खाना महोत्सव मंसिर ३० गते देखि पुस २ गतेसम्म संचालन हुने छ ।
तुलसीपुर उपमहानगरपालिकाको कार्यालय अगाडी सडकमा महोत्सव संचालन गर्ने तयारी रहेको छ । नेवा राष्ट्रिय मञ्च तुलसीपुरले पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
लाइभदाङ । २८ मंसिर २०८१, शुक्रबार ११:१३ बजे