जेसिजले दियो अक्षयकोषबाट विद्यार्थीलाई न्यानो कपडा

तुलसीपुर, २१ मंसिर । तुलसीपुर नगर जेसिजले आफ्नो अक्षयकोषबाट विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

आर्थिक अबस्था कम्जोर भएका विद्यार्थीहरुलाई पहिचान गरि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको नवजागरण माध्यमिक विद्यालय कुटेचौरका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

तुलसीपुर नगर जेसिजमा पदम पोखरले ‘जेठु–कान्छु’ ले स्थापना गरेको अक्षयकोषबाट विहीबार २६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षता तथा तुलसीपुर–१९ का वडा अध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यतामा शिशु कक्षादेखि ८ कक्षासम्मका अतिविपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।


त्यस अवसरमा वडा अध्यक्ष योगीले न्यानो कपडाले बालबालिकाको पढाइमा सहजता ल्याउने बताए । उनले वडा सरकारले पनि थप बालबालिकाको लागि पनि न्यानो कपडाको व्यवस्था मिलाउने बताए ।

यस्तै अक्षयकोष दाता पदम पोखरेल ‘जेठु–कान्छु’ले जेसिज सामाजिक क्षेत्रमा सक्रिय रहेको भन्दै न्यानो कपडाले बालबालिकाको पढाइमा सहजता ल्याउने बताए । यस्तै विद्यालयका प्रधानाध्यापक टंक केसीले चिसोका कारण बालबालिका विद्यालय आउन पनि समस्या हुने भएकाले न्यानो पोषकले बालबालिकाको पढाइलाई थप सहजता बनाउने बताए ।

कार्यक्रम संयोजक पारस न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष दिपेश भण्डारी, मोहन स्वर्णकार लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

जेसिज सदस्य झग्गुप्रसाद सापकोटाको जेसिज आस्थापाठबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव कमल प्रकाश शर्माले गरेका थिए ।