घोराही–तुलसीपुर सडक अबरुद्ध

तुलसीपुर , १८ मंसिर । सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्तले तुलसीपुर – घोराही सडक खण्ड अबरुद्ध पारेका छन् ।

बिहान ८ बजेदेखि घोराही उपमहानगरपालिका –१० नारायणपुर नजिकै झारबैरा चोकमा अवरुद्ध पारेका हुन् । सोमबार बेलुकी टिप्परको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका – १९ कुटीचौरका १९ वर्षीय सुदिप बुढाथोकीको मृत्यु भएको थियो । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार तुलसीपुर – १७ का २२ बर्षीय दिपक बस्नेत घाइते भएका थिए । उनको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रष्तिठानमा उपचार जारी छ ।

घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख १२९१ नम्बरको टिप्परले एकै दिसातर्फ आउँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका –१० झारबैरा चोकमा सोमबार बेलुका करिब साढे ६ बजेतिर ठक्कर दिएको थियो ।


सोही घटनालाई लिएर पीडित पक्षले उचित क्षतिपुर्ति पाउनु र दोषी चालक माथि उचित कानुनी कारबाहीको माग गर्दै सडक खण्ड अवरुद्ध पार्दै आएका हुन ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी इश्वर थापाले सडक खण्ड खुलाउने प्रयास जारी रहेको जानकारी दिए ।

टिप्पर चालक घोराही – ११ डोक्रेनाका ४० वर्षीय जितबहादुर चौधरी प्रहरी नियन्त्रणमा छन् ।
सोमबार पनि तुलसीपुर – घोराही सडक खण्ड अवरुद्ध पारिएको थियो । छलफल र वार्ता पछि मृतकका आफन्तलाई प्रचलित नियम भन्दा थप केही क्षतिपुर्ति उपलब्ध गराउन वस धनि सहमत भएपछि सडक खण्ड खुलेको थियो ।