तुल बहादुर कवँर मगर
देउखुरी, १३ भदौ।
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तीज पर्वको मौलिक संस्कृति जोगाउनुपर्नेमा जोड दिनुभएको छ।अखिल नेपाल महिला संघ (क्रान्तिकारी)राप्ती गाउँपालिका कमिटीले बिहीबार वडा नं.२ को बराखुटीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा सम्बोधन गर्दै उहाँले परम्परागत तीजलाई मौलिक संस्कारमा मनाउनुपर्ने बताउनुभयो।
त्यस्तै उहाँले तीज पर्व महिला दिदीबहिनीहरूको सुख, शान्ति र मनोरञ्जनको अवसर भए पनि पछिल्लो समय विकृति बढ्दै गएको उल्लेख गर्दै चिन्ता व्यक्त गर्नुभयो। “हाम्रो मौलिक पर्व र संस्कृतिमा देखिएका विकृतिहरूलाई रोक्न र परम्परागत मान्यतालाई बचाउनुपर्छ,” उहाँले भन्नुभयो। चाडपर्वमा हुने खाने र नहुनेबीचको विभेदले सामाजिक एकतालाई असर गरेको बताउँदै मौलिकता र संस्कृतिको संरक्षण आवश्यक रहेकोमा जोड दिनुभयो।
त्यस्तै पूर्वमन्त्री शर्माले वर्तमान सरकारले संविधान संशोधनको नाममा जनताको अधिकार खोस्ने प्रयासमा लागेको आरोप लगाउनुभयो। उहाँले संविधानले दिएको समानुपातिक समावेशिता र उत्पीडित जाति, वर्ग र समुदायका अधिकारलाई कमजोर बनाउन सरकार लागिपरेको बताउनुभयो। “यो सरकार दलित, मुस्लिम, महिला, जनजाति लगायत उत्पीडित समुदायको अधिकार खोस्न चाहन्छ,” शर्माले भन्नुभयो। “हामी यी अधिकारको रक्षा गर्न संगठित हुनुपर्छ।”
लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजीत थारुले मौलिक पहिचान र संस्कृतिको संरक्षण सबैको दायित्व रहेको बताउनुभयो। उहाँले तीजलाई देखासिकीभन्दा आपसी खुशीको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, नेकपा माओवादी केन्द्रका जिल्ला सह-इन्चार्ज अन्जान चौधरी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङकी इन्चार्ज पुनम शेरपाईली, पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष नारायण शर्मा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँ कमिटीका अध्यक्ष दुरपती चौधरीको अध्यक्षता तथा जिल्ला सदस्य भगवता अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव बालिका सुनारले गर्नुभएको थियो।
लाइभदाङ । १३ भाद्र २०८१, बिहीबार २१:३५ बजे