
गुल्मी, १६ मंसिर ।
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । आइतबार बेलुका सवा ९ बजेदेखि वडा नं.१ को कार्यालय पौदी अमराइमा मतगणना सुरु भएको निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताए ।
मुसिकोट–१ को वडाध्यक्षको उपनिर्वाचनमा ५७ दशमलव ०५ प्रतिशत मत खसेको थियो । उक्त वडामा ४ हजार ९१ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा २ हजार ३३४ मत खसेको घिमिरेले बताए ।
वडाध्यक्ष पदका लागि आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रिक्त वडाध्यक्षका लागि नेपाली कांग्रेसका आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रका दुर्गाबहादुर बिक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विकास थापा, राप्रपाबाट ईश्वरी खाती तथा स्वतन्त्रतर्फ पोमानन्द खरेल, कुलबहादुर थापा र योगेन्द्र खरेलका बीच चुनावी प्रतिस्पर्धा भएको छ । नेकपा (एकीकृत समाजवादी)ले माओवादी उम्मेदवार बिकलाई समर्थन गरेको थियो ।
उक्त वडामा यसअघि कांग्रेसले वडाध्यक्ष जितेको थियो । निर्वाचित वडाध्यक्ष मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि रिक्त पदका लागि उपचुनाव भएको हो । मतगणनाको नतिजा आजै सार्वजनिक हुने निर्वाचन अधिकृत घिमिरेले बताए ।



लाइभदाङ । १६ मंसिर २०८१, आईतवार २१:५४ बजे