विद्यार्थीलाई ज्ञानसँगै सीप प्रदान गरौं : पूर्व मन्त्री खनाल

तुलसीपुर, १५ मंसिर ।
विश्वविद्यालयको शिक्षामा ज्ञानसँगै सीप नहुँदा विद्यार्थीहरु विदेश जाने क्रम बढेको पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले बताएका छन् । उनले ज्ञान,सीप र उद्यमशिलतालाई सँगै जोडेर लैजानु आवश्यकता भएको बताए । ‘हाम्रा विश्वविद्यालयहरुले पाठ्यक्रम परिमार्जन गरेर विद्यार्थीहरुलाई उद्यमशिल बनाउनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ’ पूर्व मन्त्री खनालले बताए ।

तुलसीपुर मेट्रो कलेजले लुम्बिनीमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री खनालले प्राविधिक शिक्षाको विकासका लागि सबैले ध्यान दिनुपर्ने बताए ।


कलेजमा भर्ना भएका बिएएलएलबी,बिबिए र बिएचटिएमका विद्यार्थीहरुका लागि आयोजना गरिएको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयले प्राविधिक शिक्षालाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए । उनले विद्यार्थीहरुलाई पढ्दापढ्दै विभिन्न खालको अवसर सृजना गर्ने गरी विश्वविद्यालयले कार्यक्रम सञ्चालन गरेको पनि बताए ।

तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगरप्रमुख घनश्याम पाण्डेले विद्यार्थीहरुले ज्ञान र सीप दुवै कुरालाई केन्द्रमा राख्नुपर्ने बताए । उनले कागजी उपलब्धिका साथै सीप पनि भएमात्रै सीकाइ पूर्ण हुने बताए । कार्यक्रममा उपप्राध्यापक अनुज चन्द, परीक्षा नियन्त्रक इन्द्रप्रसाद काफ्ले, विरेन्द्र महरा लगायतले विभिन्न मन्तव्य राखेका थिए ।