तुलसीपुर ४ लाई यसरी चिनौं

दाङ, १३ मंसिर ।
दाङ जिल्लाको तत्कालिन तुलसीपुर र अमृतपुर गाउँ विकास समितिका सम्पूर्ण वडालाई समेटेर वि.सं.२०४८ चैत्र ३० गते तुलसीपुर नगरपालिका घोषणा गरियो । २०७१ साल मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार तत्कालीन उरहरी, टरिगाँउ र हलवार गाउँ विकास समितिहरू समेत यसमा गाभेर नगरपालिकाको क्षेत्र थप विस्तार गरियो ।

त्यसपछि मुलुक संघीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै तुलसीपुरलाई २०७३ साल फागुन २२ गते नेपाल सरकारको निर्णय तथा २०७३ साल फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो।

तुलसीपुरलाई उपमहानगरपालिका घोषित गर्दा यसमा तत्कालिन मानपुर, बिजौरी, डुरुवा, फुलबारी र पवननगर गाउँ विकास समितिलाई समावेश गरिएको थियो। त्यसपछि साविक नगरपालिकाको वडा नं.२,१६ र १७ मिलाएर तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ४ बनाईएको थियो । यो वडा तुलसीपुरको पहाडी क्षेत्र र तराई क्षेत्र मिश्रित वडा छ ।

यस वडाको सबै भन्दा बिकट क्षेत्र भनेको खुमखानी हो । जहाँ अझै सम्म पनि सडक पुगेको छैन । तर, नयाँ ट्रयाक खोल्ने कार्य भने भइरहेको छ । बायोखोलाबाट सडकको ट्रयाक खोल्ने कार्यको सुरुवात भएको छ । विद्युत भने भर्खरै पुगेको छ । खुमखानी बाहेक वडाको अन्य सबै क्षेत्रमा सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्यको सहज पहुँच छ ।

उपमहानगरपालिका कार्यालयदेखि वडा नं.४ को कार्यालय जान ८ किलोमिटर दुरी छ । यस वडाको सबै भन्दा अग्लो भु–भाग सुकिदह रहेको छ, भने सबै भन्दा होचो भू–भाग रक्षाचौर रहेको छ ।

तुलसीपुर ४ को पूर्वमा तुलसीपुर १९ ग्वारखोला, पश्चिममा तुलसीपुर ३ पातुखोला, उत्तरमा सल्यान कपुरकोट गाउँपालिका र दक्षिणमा तुलसीपुर ७ पर्छ । यस वडाको कार्यालय तुलसीपुर, ४ हलवार पर्छ ।

यस वडा भएर ग्वारखोला बग्छ । दद्रनी, पत्रेनी, हुँदै तल्लो हलवारसम्म करिब ७ किलोमिटर जतिमा ग्वारखोला बग्नेगर्छ । त्यो बाहेक वडामा स–साना खोलाहरु पनि छन्, ति हुन ः
– कल्ले खोला
–सिर्से खोला
–स्याङ्टे खोला
–खाद्रे खोला
–बेतन्ने खोला
–गुहिहे खोली

दक्षिण एसियाकै दोस्रो ठूलो चमेरे गुफा यही वडाको मुलकोटमा पर्छ । जुन पर्यटकीय क्षेत्रको प्रमुख केन्द्र हो । तर, यसलाई प्रचार प्रसारको अभाब छ । अहिले त्यो गुफा हेर्न दैनिक ५/७ जना मात्रै पुग्छन् । यसलाई प्रचार गर्न सकिएमा धेरै पर्यटक भित्र्याउन सकिन्छ । चमेरे गुफा पुग्नकालाई तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ३ को हर्नेटी हुँदै जानुपर्छ । भने, पर्सेनीबाट पनि चमेरे गुफा पुग्नकालागि सडकको ट्रयाक खोलिएको छ । उक्त गुफा दुई दशक अघि फेला परेको हो । ३० मिटर उचाई,१६ मिटर लम्वाई र ७ मिटर चौडाई रहेको छ भने ३ वटा तला रहेको छ । गुफामा एक हजार बढी मान्छे अट्ने आकारमा रहेको छ । गुफामा भएको पुरातत्वलाई अझै पनि पत्ता लगाउन सकिएको छैन । गुफामा एक हजार वर्ष पुराना अभिलेखहरु फेला परेका छन् । गुफा भित्र परापूर्वक कालका विभिन्न आकृति र स्तुवहरु रहेका छन् । उक्त गुफा समुद्र सतहदेखि १२३० मिटरको उचाईमा रहेको छ । जुन गुफा ऐतिहासिक, धार्मिक महत्व बोकेको छ । तुलसीपुर बजारबाट चमेरे गुफा जान ११ किलोमिटर छ । पुग्नकालागि सडक पनि सहज छ ।


सुकीदह
यस वडामा रहेको सुकी दह संरक्षणमा छैन । कुनै समय १२ महिना नै पानी हुने यो दह अहिले सुख्खा हुन्छ । यो संरक्षित नभएको हुदा अतिक्रमीत भएको छ । यो ताल पहाडको फेदमा जंगलको विचमा रहेको हुदा वरपरको ढुंगा वालुवा लगायतले पुर्दै लगेको देखिन्छ । यो ताल करिब दुई विघा क्षेत्रफलमा फैलिएको छ । जहाँ मेला पनि लाग्ने गर्छ । यस वडामा ४८ वटा टोल विकास संस्थाहरु छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा २३३८ घरधुरी रहेका छन् । त्यस मध्ये जम्मा ११,१३१ जनसंख्या रहेको छ । जसमा महिला बढि रहेका छन् । महिला ५९२० र पुरुष ५२११ रहेका छन् । यस वडामा १७२ वटा ब्यबसाय दर्ता भएका छन् । यस वडाको मुख्य ब्यापारिक केन्द्र रक्षाचौर हो ।

तुलसीपुर ४ बाट अहिलेसम्म ६०० जना विदेश गएका छन्, भने १६५ जना फर्किएका छन् । अहिलेसम्म १५ करोड ३ लाख विप्रशन विभिएको छ । सबै भन्दा बढि खाडी मुलुक तथा मलेसियामा काम गर्न गएकाहरुले बिप्रेशन पठाएका छन् । त्यस्तै अध्ययनकालागि विदेश गएका सोही वडाका ४६ जना विद्यार्थीले त्यहाँको विश्वविद्यालयलाई ११ करोड ५० लाख ७० हजार रुपैँया तिरेका छन् ।

विदेश जानेमा महिला धेरै रहेका छन् ।
यस वडामा तीन वटा खानेपानी संस्था तथा समितिहरु छन् । ति मध्ये हलवार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सबै भन्दा बढि हलवार, नवलपुर, बनहरी, घोरनेटी, भ्यूडहर, कल्लेखोला, लामिदमार, छोटीदमार, जितपुरसहित वडा नं. ७ का केही स्थानमा सेवा प्रवाह गर्दै आएको छ । जसका १० वटा सार्वजनिक धाराहरु छन्, भने ४१४ वटा ब्यक्तिगत धाराहरु रहेका छन् । २ वटा मुहानबाट त्यहाँ पानी आउने गर्छ ।

त्यस्तै खाद्रे खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले साविक हलवार गाविसका ८ र ९ नम्बर वडाका बासिन्दालाई सेवा प्रवाह गर्दै आएको छ । जसका ३७५ धाराहरु छन्, भने ३ वटा सार्वजनिक धाराहरु रहेका छन् ।

भने बसन्तघारी खानेपानी उपभोक्ता समितिले साविक ५ नम्बर वडाको गहतेरा टोलमा सेवा प्रवाह गर्दै आएको छ । जसका १९ वटा सार्वजनिक धाराहरु रहेका छन् । यस वडामा १० वटा सामुदायिक बन रहेका छन् ।

खनिज पदार्थ :
तुलसीपुर ४ को तरुलेमा कोइलाखानी छ । जहाँ तीन दशक अघि उत्खनन् पनि गरिएको थियो । त्यतिबेला खच्चरले कोईला ढुवानी गर्ने गरिन्थ्यो ।

सार्वजनिक चौतारी तथा प्रतिक्षालय :
यस वडामा १८ वटा सार्वजनिक चौतारी तथा प्रतिक्षालय छन् ।
– लामिदमार स्कुल नजिक
– चारबाटो चोक
– बराहथान चोक (४ र ७ को सीमाना)
– खाद्रे
– माथिल्लो हलवार
– बनहरी ३ वटा
– तल्लो हलवार २ वटा
– एक्लेसाल
– सुकीदह २ वटा
– बनहरी
– बायोखोला
– छोटीदमार
– खुमखानी
– मुलकोट
प्रतिक्षालय तथा सार्वजनिक चौतारा रहेका छन् ।
यस वडामा ६ वटा खेल मैदान छन् ।
– बनहरी, ठूला चौर
– खाल्डेपानी, खाद्रे
– लामीदमार, स्कुल
– रक्षाचौर, गादीगरा सामुदायिक बन भित्र
– प्रावि घोरनेटी
– सुकीदह खेल मैदान रहेका छन् ।
यस वडामा सुकीदह मेला मंसीर पूर्णीमामा लाग्ने गछ्र्, भने चमेरे गुफामा माघ १० गते मेला लाग्ने गर्छ । यस वडामा ७ वटा सामुदायिक विद्यालय छन्, भने २ वटा निजि विद्यालय छन् । ति मध्ये सबै भन्दा बढि गुरुजजुर माविमा दुई हजार ७ सय ५१ विद्यार्थी छन् । यस वडामा दुई वटा स्वास्थ्य संस्था छन् । रक्षाचौर र हलवारमा स्वास्थ्य चौकी रहेका छन् ।

यस वडामा पर्सेनीदेखि चमेरे गुफासम्मको सडक केही कालोपत्रे भएको छ, भने अधिकाँंस बाँकी छ । त्यस्तै हापुर–रक्षाचौर सडकखण्डको कौवाखोली–कल्लेखोलासम्मको सडक स्तरबृद्धि हुने सकेको छैन । यदि यी दुई सडक स्तरोन्नती भएमा वडामा उत्पादन भएको तरकारी घोराही बजारसम्म पनि लैजान टेवा पुग्ने छ । साभारः अग्रिम साप्ताहिक