प्रिया स्मृती गजमेर
दाङ, ४ मंसिर ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरको आयोजना तथा देउखुरी, गढवा र सिसहनिया उद्योग वाणिज्य संघको समन्वयमा एक दिने करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सोमबार लमहीमा सम्पन्न भएको छ । सो क्रममा आयकर, अन्तःशुल्क, भ्याट, मिसम्याच, खरिद र विक्री गर्दा व्यवसायीले हिसाब राम्रोसंग राख्न नसक्दा हुने क्षति, बेलाबेलामा कर छुटका लागि आउने अवसर र लामो समयसम्म कर नतिर्दा लाग्ने जरिवाना र समस्याका बारेमा वृहत छलफल तथा अन्तरक्रिया भएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिनु भयो ।
कार्यक्रममा लमही, गढवा र सिसहनियाका झन्डै डेढ सय व्यवसायीहरुको सक्रिय सहभागिता रहेको थियो । देउखुरी उद्योग वाणिज्य संघ लमहीले हरेक वर्ष करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा कर कानूनसंगै ऐन, नियम तथा नियमावलीहरु, निर्देशिकाहरु, फारमहरु, करको दर तथा छुट सुबिधाहरु, सन्धी तथा संझौता, कार्यविधिका बारेमा पनि व्यवसायीलाई प्रष्ट पारिएको छ ।
करदाताले केन्द्रिय बिजक अनुगमन प्रणाली –सिबिएमएस० प्रयोग गर्ने तरिका, आय विवरण भर्ने संशोधित व्यवस्था सम्बन्धी जानकारी, दर्ता र दर्ता खारेजी सम्बन्धी जानकारी, कर विवरण तथा कर दाखिला सम्बन्धी सामान्य जानकारी, कर फिर्ता सम्बन्धी व्यवस्था, कर छुट पाउने संस्था सम्बन्धी व्यवस्था २०७७, आयकर छुट सम्बन्धी व्यवस्था २०७७, अग्रिम कर कट्टी तथा कर असुली सम्बन्धी व्यवस्था २०७७, स्वयं कर निर्धारण डे–०१ आय विवरण पेश गर्ने प्रक्रिया, स्वयं कर निर्धारण डे–०२ आय विवरण पेश गर्ने प्रक्रिया, स्वयं कर निर्धारण डे–०३ आय विवरण पेश गर्ने प्रक्रियाका बारेमा प्रमुख कर अधिकृत श्रीधर टण्डनले प्रष्टसंग व्याखा गर्नु भएको थियो ।
स्वयं कर निर्धारण डे–०४ आय विवरण पेश गर्ने प्रक्रिया, करदाता पोर्टलबाट लगईन गरी आफ्नो विवरणहरु हेर्न र विवरण रुजु गर्ने प्रक्रिया, अन्तःशुल्क इजाजतपत्र स्वयं नवीकरण गर्ने प्रक्रिया, सूर्तीजन्य पदार्थ बाहेक अन्य स्वयं निष्काशन प्रणाली अन्तर्गतका करदाताले अन्तःशुल्क विवरण पेश गर्ने प्रक्रिया, सूर्तीजन्य तथा भौतिक नियन्त्रण प्रणाली अन्तर्गतका करदाताको अन्तःशुल्क विवरण पेश गर्ने प्रक्रिया, अन्तःशुल्क ब्राण्ड दर्ता सम्बन्धि जानकारी गराइएको छ । व्यवसायीहरुले व्यवसाय गर्दा रणनीतिक योजना र सुधार योजनाका कुरालाई पनि ध्यानमा राख्नु पर्ने प्रमुख कर अधिकृत श्रीधर टण्डनको भनाई छ ।
त्यस्तै अन्तःशुल्कमा नयाँ दर्ता प्रक्रिया, कारोबार बन्द गर्ने अवस्थामा बुझाउने मूल्य अभिवृद्धि कर विवरण (अनुसूची ११) पेश गर्ने प्रक्रिया, मूल्य अभिवृद्धि कर विवरण (अनुसूची १०) पेश गर्ने प्रक्रिया, स्रोतमा कर कट्टी (टिडिएस) विवरण पेश गर्ने प्रक्रिया, व्यवसायिक स्थायी लेखा नम्बर (निकाय) को लागि दर्ता प्रक्रिया, साझेदारी व्यवसायको स्थायी लेखा नं. दर्ता प्रक्रिया, अग्रिम कर कट्टीका लागि स्थायी लेखा नम्बर दर्ता लगायतका विषयमा उपस्थित भएका व्यवसायीहरुसंग छलफल तथा अन्तरक्रिया भएको हो ।
करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले मिसम्याच सम्बन्धि, व्यक्तिगत पाना नम्बर, दर्ता नगरी संचालन गरिएका व्यवसाय, तथा पाना नम्बर लिएका तर मृत्यु पश्चात् कर कार्यालयमा जानकारी नगराउँदा के– कस्ता झमेला आइपर्छन भन्ने विषयमा जिज्ञासा राखेका थिए । देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षता तथा आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङका प्रमुख कर अधिकृत श्रीधर टण्डनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ उद्योग उपाध्यक्ष केशबराज पोख्रेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिव इश्वरप्रकाश श्रेष्ठले गर्नु भएको थियो ।
लाइभदाङ । ४ मंसिर २०८१, मंगलवार २०:२४ बजे