छिल्लीकोटमा जिपलाईन निर्माण पूरा

तुलसीपुर,२७ कात्तिक ।
दाङको पर्यटकीय स्थल तुुलसीपुर उपमहानगरपालिका वडा नं.१९ मा जिपलाईन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रंगरोगन र टिकट काउन्टरको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूरा भएको हो । उहाँले आउदो मङ्सिर भित्रै उक्त जिपलाईन सञ्चालन गर्ने गरि तयारी गरेको बताउनुभयो ।

“निर्माण सुरु भएको लामो समय वित्यो, भर्खरै मत्रै पूरा भयो”,उहाँले भन्नुभयो“धेरै जनाले छिटो सञ्चालनमा ल्याउनु प¥यो भन्दै आउनु भएको छ, अब मङ्सिर महिना भित्र सञ्चालनकालागि तयारी गरेका छौं ।” २ बर्ष अघि देखि निर्माण सुरु भएपनि भौगोलिक विकटताले गर्दा सामान ओसार्न समस्याले निर्माणमा ढिलाई भएको उहाँको भनाई छ । तार तान्न नै एक बर्ष लागेका ढिलाई भएपनि तत्काल सुरु गर्ने तयारी छ ।

उक्त जिपलाईन लुम्बिनी प्रदेशमै सबै भन्दा लामो रहेको समेत उहाँको दावी छ । उक्त जीपलाइन एक हजार एक सय मिटर लामो छ भने टेक अफ टावर र ल्याण्डिङ टावरका बीचको उचाइ एक सय ३० डीग्री एलिभेसनमा छ । करिब दुई करोड लागतमा स्थानीय भुल्के सामुदायिक बनको जग्गामा जिपलाईन निर्माण भएको छ ।


जस वापत प्रतिटिकेट बनलाई ५ प्रतिशत र त्यहाँ रहेको कालिका मालिका मन्दिरलार्ई ५ प्रतिशत दिने गरि सम्झौता भएको छ । २० बर्षकालागि जिपलाइन सञ्चालन गर्ने गरि सम्झौता भएको उहाँको भनाई छ । जिपलाईनमा १० जना जतिले रोजगारी पनि पाउने उहाँको भनाई छ ।

छिल्लीकोट दाङको पर्यटकीय स्थल भएकाले त्यसलाई थप आकर्षक बनाउन जिपलाईन निर्माण गरिएको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने उहाँले बताउनुभयो । साहसिक खेल मानिने जिपलाइनप्रति आकर्षण बढ्ने भएकाले पनि पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

छिल्लीकोट रिसोर्ट एण्ड एड्भेन्चर प्रालिको नामबाट उक्त बम्बिजम्प सञ्चालनमा ल्याईएको हो । सोही ठाउँलाई एडभेन्चरको हबको रुपमा विकास गर्ने गरि आफूहरुले उक्त कार्य गरेको उहाँले बताउनुभयो । जहाँ केही समयपछि स्काई साइकलिङ, रकक्लाइम्बिङलगायत थप गर्ने समेत तयारी रहेको उहाँको भनाई छ ।