उद्यमीसँग पालिकाः समस्या समाधानमा प्रत्यक्ष संवाद

तुल बहादुर कवँर मगर
भालुबाङ, २६ कात्तिक ।
दाङको राप्ती गाउँपालिकाले स्थानीय उद्यमीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या र आवश्यकतालाई नजिकबाट बुझ्न उद्योगमै गई उद्यमीहरूसँग अन्तरक्रिया सुरु गरेको छ।

गाउँपालिकाका रोजगार सेवा केन्द्रका प्रमुख मुमाराम भुसाल र उद्यम विकास शाखा प्रमुख बिनिता चौधरीले पालिकाबाट विभिन्न समयमा सीप र प्रविधि प्रशिक्षण लिई व्यवसाय सञ्चालन गरिरहेका युवा तथा महिला उद्यमीहरूको प्रगति, चुनौती र आगामी आवश्यकताबारे जानकारी लिन उद्योगमै पुगेर अन्तरक्रिया गर्न थाल्नु भएको हो।

सो अवसरमा व्यवसाय सञ्चालनमा देखा परेका व्यावहारिक समस्याहरू, बजार अभाव, वित्तीय कठिनाइ तथा प्राविधिक सुधारका आवश्यकताका विषयमा छलफल गरिएको थियो।


रोजगार सेवा केन्द्र प्रमुख मुमाराम भुसालले उद्यमीहरूको दैनिक कामकाजलाई सहज बनाउन र रोजगारी सृजनामा निरन्तरता दिन पालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

उद्यम विकास शाखा प्रमुख विनिता चौधरीले उद्यमीहरूको सीप सुधार, प्राविधिक सहयोग, र तालिमका कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राखेर पालिका अघि बढिरहेको बताउनुभयो। उद्योगीहरूले रोजगार सिर्जना, उत्पादन वृद्धि, र बजार विस्तारका लागि पालिकासँग थप सहयोगको आग्रह गरेका छन्।

यो पहलले पालिका र उद्यमीहरूबीचको सहकार्यलाई बलियो बनाउँदै स्थानीय स्तरमै स्वरोजगारको विकास र आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।