अन्जना बिश्वकर्मा
दाङ,१३ कात्तिक ।
दाङको दंगीशरण गाउँपालिका नं. ३ स्थित थारु संग्राहलयमा संरचना थपिएसंगै आकर्षण बढेको छ । संग्राहलयमा देशभरका थारु पुर्खाहरूको रहन,सहन, भेषभुषा, संस्कार, संस्कृति झल्किने थारु गाउँ बस्ति नाम दिएर संरचना थपिएसंगै थप आकर्षण बढेको हो । जहाँ दाङको डगौरा नाच, देउखुरी दाङको नाच, कोशी पारी रहेको मोरङ नाच, चितवनको लठ्ठी नाच, कैलाली र कञ्चनपुरका राना थारुहरूको नाच, होली नाच, बड्का नाचको मूर्ति राखिएको छ ।
त्यस्तै थारु समुदायका पुर्खाहरूले कस्तो खाने कुरा खान्थे, कस्तो संस्कार, संस्कृति थियो, भन्ने कुरा पनि त्यसमा देखाईएको छ । जसले गर्दा दैनिक एक सय भन्दा बढिले अवलोकन गर्ने गरेको संग्राहलय व्यवस्थापन समितिका उपाध्यक्ष शान्ता चौधरीले बताईन् । “चाडपर्वको समयमा त ७ सय भन्दा बढि दैनिक अवलोकन गर्नेहरू हुन्छन्”,उनले भनिन् “अफ सिजनमा मात्रै पनि दैनिक एकसय भन्दा बढि आउने गर्नुहुन्छ ।”
जहाँ संग्राहलयमा थारु संस्कृति, परम्परा, कलासंग जोडिएका चित्र, मूर्ति, नक्सा, पोशाक र परम्परागत सामग्रीहरू राखिएको छ । थारू जातिका परम्परा, नाँचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । यस्ता सामग्री हेर्नकालागि दिनप्रतिदिन मानिसहरूको घुइँचो लाग्ने गरेको छ ।
सबै समाजका थारु समुदायलाई समेट्ने गरि सामग्रीहरू राखिएको छ । चौधरीका अनुसार अहिले जिल्ला भित्रका मात्रै नभई बाहिरबाट पनि आउनेको संख्या बढिरहेको छ । त्यहाँ थारु समुदायका पुराना सिक्का, गरगहना, माटोका भाडा, दंगौरा घरलगायतका सामग्रीहरू संग्राहलयमा राखिएको छ ।
अहिलेसम्म करिब १० करोड खर्च भइसकेको समेत उनले बताईन् । साथै थप लगानीमा नयाँ संरचना निर्माणको काम भइरहेको छ । २०७५ सालदेखि उक्त संग्राहलय सञ्चालनमा आएको हो । सोही संग्राहलय निर्माण भएपछि स्थानीयले रोजगारी पनि पाएका छन् ।
थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता पनि राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा पनि संकलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै थारूको इतिहास संरक्षण हुने गरी संग्रहालय निर्माण गरिएको छ ।
संग्रहालयमा राना, डंगौरा, देउखुरी, चितवन, कैलाली कंचनपुर मोरङलगायतका सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । यी सबै सामान नेपालका थारु बाहुल्यता भएको ठाउँबाट संकलन गरी ल्याएको छ । उक्त संग्राहलय ५ बिघा क्षेत्रफलमा रहेको छ । संग्राहलयमा सामान्य प्रवेश शूल्क रु. ५० छ । तर, अपाङ्ग, विद्यार्थी,एकल महिलालाई रु.३० मात्रै छ । दैनिक सरदरमा ४० हजारको हाराहारीमा आम्दानी हुने गरेको उनले बताईन् । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १३ कार्तिक २०८१, मंगलवार ०८:१३ बजे