बजेट सहि ढंगले कार्यान्वयन गर्न अनुगमन जरुरीःमुख्यमन्त्री आचार्य

बाँके, ७ कात्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक बर्षमा विनियोजन भएको बजेट सहि ढंगले कार्यान्वयन गर्न आग्रह गर्नु भएको छ । कोहलपुर नगरपालिकामा बुधवार जनप्रतिनिधि तथा कर्मचारीहरु संगको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले चालु आर्थिक बर्षमा बाँके जिल्लालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन भएको र बजेटको सहि ढंगले कार्यान्वयन गर्न आग्रह गर्नु भएको हो ।

बाँके जिल्लामा पुँजीगत तर्फ दुई अर्ब ४२ करोड बजेट विनियोजन भएको र पाँच लाख भन्दा माथिका सबै आयोजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।‘सरकारले विनियोजन गरेको बजेटको सहि ढंगले कार्यान्वयन भएको छ या छैन त्यसलाई अनुगमन गर्नुस’मुख्यमन्त्री आचार्यले भन्नुभयो,–‘बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन जरुरी छ ।’


कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना तत्काल गरिने जानकारी दिनुभयो ।‘कार्यालय भवन र कार्यालय सहयोगी नगरपालिकाले उपलब्ध गराउने सहमती भएको छ । प्रदेश सरकारबाट कर्मचारी नियुक्त गरेर पठाउटछौंं’उहाँले भन्नुभयो,‘छिटो सेवा सुरु गर्ने योजना अनुसार काम अघि बढेको छ ।’ कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख संगिता सुवेदीले कोहलपुरमा यातायात सेवा कार्यालय स्थापना संगै समग्र विकासका योजनाहरुको बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको बताउनु भयो ।

‘समग्र कोहलपुरको विकासको बारेमा छलफल भयो । साथै यातायात सेवा कार्यालय स्थापनाको बारेमा पनि ध्यानकर्षण गराएक छौं । यस बारेमा मुख्यमन्त्री ज्यू सकारात्मक हुनुहुन्छ’उहाँले भन्नुभयो,‘छिट्टै यातायात सेवा कार्यालय स्थपना हुने विश्वास दिलाउनु भएको छ ।’