नाटक : ठेला

बिशाल गुप्ता
भागः ३
परिवेश : ठेला व्यवस्थापन
समय : अपरान्ह ४ः०० बजे
पात्रहरू : विशाल, पत्रकार, नगरप्रमुख, कर्मचारी, वकिल

दृश्य : १
(विशाल आक्रोशित मुद्रामा देखिन्छ । पटक–पटक चेतावनी दिएर पनि नगरपालिकाले ठेला व्यवस्थापन गर्न नसकेकोले ऊ चिन्तित हुन्छ । उसले विभिन्न ठाउँमा हारगुहार गरे पनि ठेला व्यवस्थापन नभएपछि, अन्ततः उसले पत्रकारलाई प्रमाण दिने निर्णय गर्दछ ।)

विशाल : (मनमनै सोच्दै) अब म के गरुँ? जतिसुकै प्रयास गरे पनि केही उपाय चलेन । अब म सँग भएका सबै प्रमाणहरू मिडियाकर्मी साथीहरूलाई दिन्छु ।

(उ सरासर मिडियाकर्मी कहाँ जान्छ ।)
विशालः पत्रकार ज्यू, नमस्ते।
पत्रकारः नमस्ते ! कता आउनुभयो?
विशालः म हजुर कहाँ प्रमाण लिएर आएको छु ।
पत्रकारः के को प्रमाण?
विशालः नगरपालिकाले गरेको करतुतको प्रमाण ।
पत्रकारः ओहो, राम्रो भयो । अब प्रमाण भए अदालतमा पेश गर्न सजिलो हुन्छ । ल्याउनुहोस् ।

(विशालले सबै प्रमाणहरू पत्रकारलाई दिन्छ । पत्रकार र विशाल नगरपालिकातिर लाग्छन् । नगरप्रमुख र कर्मचारीहरू छलफलमा व्यस्त छन् । पत्रकारलाई देखेपछि नगरप्रमुख झस्किन्छन् ।)

नगरप्रमुखः पत्रकार ज्यू, केही कुरा गर्नु थियो?
पत्रकारः कुरा त धेरै गर्नु थियो नगरप्रमुख ज्यू ! प्रमाण सहित कुरा गर्ने कि?

(नगरप्रमुखले प्रमाणको कुरा सुनेर विशाललाई हेर्छन् । अलि डराएर पत्रकारलाई गोप्य ठाउँतिर लैजान्छन् ।)
नगरप्रमुखः तपाईं जस्तो मान्छेले सोचविचार गरेर अघि बढ्नु होला । भोलि काम लाग्ने भनेको प्रमाण होइन,
हामी हौँ।


पत्रकारः  तर… तर यो सबै प्रमाणले त्यसो भन्न मिल्दैन नगरप्रमुख ज्यू !
(कुरो गर्दै जाँदा विशाल आइपुग्छ ।)
विशालः नगरप्रमुख ज्यू, अब म चुप लागेर बस्दिनँ । म अदालतमा जान्छु । न्याय उसैले दिन्छ ।

(विशालको आक्रोश देखेर नगरपालिकाका कर्मचारीहरू उसमाथि हातपात गर्न थाल्छन् । पत्रकार पनि चुपचाप त्यो दृश्य हेरिरहेको हुन्छ ।)

कर्मचारी १ः यो मान्छेको नियत सुरुदेखि नै ठिक थिएन । जतिसुकै भने पनि कहिल्यै सुध्रिने छैन । अब यसलाई सजाय नदिएर भएन ।
कर्मचारी २ः मानहानिको विरुद्धमा यसलाई मुद्दा हाल्नुपर्छ ।
विशालः मलाई के को मुद्दा हाल्नुहुन्छ? मुद्दा म हाल्छु तपाईँहरूलाई, बुझ्नुभयो?
(विशाल त्यहाँबाट सरासर अदालत तिर लाग्छ।)

दृश्यः २
(अदालतको वातावरण। विशालले वकिलसँग सबै कुरा साट्दै छ।)
वकिलः प्रमाण सबै मलाई दिनुहोस् ।
विशालः वकिलसाफ, मलाई जसरी भए पनि न्याय दिलाइ दिनुहोस्।
वकिलः म न्याय जसरी पनि दिलाई दिन्छु । तर, २–४ जना अरू गवाही पनि ल्याउनु पर्छ ।

(विशालको अनुहारमा आत्मविश्वासको भाव देखिन्छ । उसले वकिललाई प्रमाणहरू सुम्पिन्छ।)
विशालःगवाही पनि ल्याउँछु । अब यस नगरप्रमुखको करतुतलाई कानुनी कारवाहीमा ल्याएरै छाड्छु ।
(वकिलले प्रमाणहरू हेर्दै विशाललाई आश्वासन दिन्छ। विशालको अनुहारमा केही राहत देखिन्छ।)
क्रमश…..
साभारः अग्रिम साप्ताहिक