निर्वाचनमा मिडिया : प्रपोकाण्ड होईन्, सन्तुलित बनौं

दीपक बोहरा
लोकतन्त्रको सुन्दर पक्ष आम निर्वाचन हो । मुलुकमा संविधान निर्माण भएपछि दोस्रो पटक मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । गएको बैशाखमा स्थानीय तहको निर्वाचन भइसकेको छ । मुलुकको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मंसिर ४ मा तोएिको प्रदेश र संघीय निर्वाचनलाई निकै चासोका साथ हेरिन्छ ।

मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई संस्थागत गर्नकालागि यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ । यो निर्वाचन सफल पार्न सञ्चार माध्यामको महत्वपूर्ण भूमिका रहन्छ । तर, पछिल्लो समय राजनीतिक दलका गतिबिधिले गर्दा मतदातामा असन्तुष्टि देखा पर्ने गर्छन् । यद्यपी जनताले आफ्नो मताधिकार प्रयोग गर्नु पर्छ । आफूले गरेको अमूल्य मतबाट मुलुकको संविधान रक्षा गर्दै मुलुकलाई विकसित बनाउने नेतृत्व जानेछ, भन्ने अपेक्षा मतदाताले गर्नुपर्छ । मतदातालाई यसरी मतदान गर्ने वातावरण तयार पार्नु सञ्चार माध्यामको महत्वपूर्ण भूमिका रहनेगर्छ । मिडियाले स्वस्थ, विश्वसनीय र तथ्यपरक समाचार प्रदान गर्नुपर्छ ।

निर्वाचनको समयमा यसलाई झनै ख्याल गर्नुपर्छ । सत्यता,जवाफदेहिता,निष्पक्षता, स्वच्छता, शिष्टता, वस्तुनिष्ठता, ब्याबसायिक मर्यादा, सामाजिक उत्तरदायित्व, जनआकांक्षा, सूचना तथा गोपनीयताको हकको सम्मान, गल्ती सच्चाउने तत्परताजस्ता मान्यतालाई गम्भीर रुपमा आत्मसात गरेर सही सूचना दिएर मुलुकको महान उत्सव निर्वाचनलाई सफल बनाउनु पर्छ । सञ्चार माध्यामबाट नागरिकले ठूलो अपेक्षा राख्ने गर्छन् ।

निर्वाचनका बेला मिडियामा बिकृति
मिडियालाई राज्यको चौथौ अंगका रुपमा समाजले स्वीकार गरेको अबस्था छ । राज्यका सबै अंगहरुले गलत बाटो रोजेमा त्यसलाई‘ट्रयाक’ मा ल्याउने दायित्व बोकेका सञ्चार माध्यमले निर्वाचनको समयमा भने त्यो बाटो विर्सिने गरेका प्रसस्तै उदाहरणहरु छन् ।

निर्वाचन लक्षित गरेर पत्रपत्रिका, अनलाईनलगायतका सञ्चार माध्याम खोल्ने र एउटा उम्मेदवारको गुणगान गाउने र अर्को उम्मेदवारको सत्तोसराप गर्ने प्रबृति नयाँ होइन् । २०७४ सालको संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरि ‘राप्ती आवाज’ नामक पत्रिका सञ्चालनमा ल्याईयो । त्यतिबेला काँग्रेसको पक्षपोषणकालागि त्यो पत्रिका सञ्चालनमा ल्याईएको थियो । धेरै पहिले दर्ता भएको भएपनि बीचमा बन्द रहेको पत्रिका तत्कालिन अबस्थामा निर्वाचनको समयमा खोलियो र पुनःबन्द गरियो ।

त्यो पत्रिकाले काँग्रेसको मात्रै एकलौटी समाचार र तत्कालिन बाम गठबन्धनका विरुद्ध पत्रकार आचारसंहिता विपरित, निर्वाचन आचरसंहिता विपरित सामाग्रीहरु प्रकाशण तथा वितरण भएका थिए । निर्वाचनको समयमा सञ्चार माध्यामलाई यसरी प्रयोग गर्ने गरिन्छ । अहिले छ्याप्छ्याप्ती रुपमा अनलाईन सञ्चार माध्यामहरु कुनै उम्मेदवारको पक्ष र कसैको विरुद्धमा हात धोएरै लाग्ने गरेका छन् ।

यसले एकातिर कपोकल्पित रुपमा समाचार निर्माण गर्ने, चरित्र हत्या गर्ने, उम्मेदवारविरुद्ध तथ्यहिन सामग्रीहरु तयार गर्ने प्रबृति बढिरहेको छ, भने अर्कोतिर आबश्यकता भन्दा बढि बढाई चढाई गर्ने, गुणगान गाउने, अस्वभाविक खालका कुराहरु समेटेर सामग्री तयार गर्ने गरिएको छ । समाजले राज्यको चौथो अंगका रुपमा स्वीकार गरेको मिडिया जगतले गर्ने यस्ता हर्कतले गर्दा मिडियाप्रतिको विश्वसनियता कम हुँदै गएको छ, भने निर्वाचन पनि अस्वभाबिक र भड्किलो हुँदै गएको छ । अनाबश्यक द्वन्द सिजर्न हुने, मतदातालाई अस्वभाविक रुपमा विभाजन गर्ने, समाजमा अशान्ति फैलाउने, अमर्यादित क्रियाकलाप बढ्ने गरेका छन् ।

अर्को तर्फ पत्रकारहरुले नै कुनै आमूक उम्मेदवारलाई जिताऔं अभियान चलाउने, आफै प्रचारमा संलग्न हुने, सामाजिक सञ्जालमा भोट माग्ने, आफै सार्वजनिक कार्यक्रममा भाषण गर्ने जस्ता क्रियाकलाप पनि बढेका छन् । राजनीतिक दल तथा उम्मेदवार भन्दा बढि पत्रकारलाई भोट माग्ने चासो हुन्छ ।

दाङमा मौन अबधीमा अझै धेरै खुरापाती गर्ने चलन छ । कपोकल्पित समाचार तयार पार्ने र मौन अबधी भन्दा केही मिनेट अघिमात्रै सार्वजनिक गर्ने गलत अभ्यास छ । मौन अबिधी लाग्नै लाग्दा सामग्री प्रकाशन गरेपछि त्यो सामग्रीको विपक्षले खण्डन नै गर्न नपाउने भएपछि त्यो समयलाई बढि फोकस गरेर सामग्री प्रकाशन गर्ने चलन रहदै आएको छ ।


निर्वाचनको बेला कुनै उम्मेदवारहरुलाई लान्छाना लगाउने खालका सामग्री प्रकाशन गर्नुहुँदैन् । तर, पुराना सामग्रीहरुलाई पुनः प्रयोग गरेर त्यसलाई सञ्चार माध्याममा ब्यापक गराउने कार्य पनि भइरहेका छन् । यसले पनि पत्रकारिताप्रतिको विश्वसनीयता गुम्दै जान थालेका छ । त्यसले पत्रकारले यस्ता कुरामा पनि गम्भीर हुन जरुरी देखिन्छ ।

नागरिकका अपेक्षा
निर्वाचनको समयमा नागरिकले सूचनाको भोग अत्याधिक हुन्छ । नागरिक सत्य, तथ्य तथा विश्वसनीय सूचनाको अपेक्षा गर्छन् । किनकी निर्वाचनको समयमा राजनीतिक दलहरुले प्रयोग गर्ने भाषा, उनीहरुका अभिब्यक्ति विवादास्पद हुन्छन् । ति अभिब्यक्तीमा जनताले विश्वास गर्दैनन्, र उनीहरुका अभिब्यक्तीमा सञ्चार माध्यमले सत्य, तथ्य बाहिर ल्याईदिउन्, भन्ने अपेक्षा हुन्छ । राजनीतिक दलका घोषणा पत्रमा जनताले विश्वास गर्न छोडे ।

विगतदेखिका चुनाबमा ल्याएका ति घोषणा पत्रहरुमा सन्तोषजनक तरिकाले काम हुन सकेको छैन् । यसमा जनताले खबरदारी चाहिरहेका छन् । जनताले तुलनात्मक रुपमा राम्रो उम्मेदवारको खोजी गरिरहेका छन् । त्यसकालागि मिडियाबाट हुने तथ्य विश्लेषणको अपेक्षा हुने गरेको छ । तर, मिडियाले त्यस्तो भूमिका निर्वाह गर्न सकिरहेको अबस्था छैन ।

निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने दायित्व पनि सञ्चार माध्यामकै हो । यस अघिका निर्वाचनमा धेरै मत बदर भएका छन् । शिक्षित ब्यक्तीहरुले नै मत बदर गर्ने गरेका थुप्रै उदाहरण छन् । दाङमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ मा मात्रै ८१ हजार ७ सय ६५ मत बदर भएका थिए । जतिबेला दाङमा २ लाख २९ हजार २ सय ८७ मतदाताले मतदान गरेका थिए । गएको बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन २०७९ मा पनि ३ लाख ८६ हजार १ सय ८२ मत बदर भएको छ ।

यसरी अत्याधिक मत बदर हुँदा, राम्रो उम्मेदवारले हार्ने तथा मन नपराएको उम्मेदवारले जित्ने अबस्था पनि हुन सक्छ । त्यसैले यो मतबदर संख्यालाई कम गर्न सञ्चार माध्यमले सही सूचना दिनुपर्छ । सञ्चार माध्यमले निर्वाचनका हरेक गतिबिधिको सूचना दिनुपर्छ । यसले नागरिकलाई निर्वाचनका गतिबिधि बारे जानकारी हुन्छ,र नागरिकले सहज रुपमा निर्वाचनमा भाग लिन सक्छन् ।

निष्कर्ष
लोकतान्त्रिक प्रणालीको जीवन्त राख्न निर्वाचनलाई सफल बनाउनु पर्छ । त्यसकालागि मिडियाको भूमिका महत्वपूर्ण रहन्छ । निर्वाचन सफल बनाउनकालागि सुसूचित, नागरिक सहभागिताकालागि विचार तथा अभिब्यक्ती स्वतन्त्रताको प्रत्याभूतिकालागि स्वतन्त्र मिडियाको आबश्यकता पर्दछ । निर्वाचनमा मिडियाको भूमिका सार्वजनिक सरोकारको विषय हो ।

लोकतान्त्रिक प्रणालीमा आबधिक निर्वाचनको औचित्य सुसूचित जनसमुदायको विवेकपूर्ण निर्णयमा निर्भर रहन्छ, भने जनसमुदाय सुसूचित बन्नकालागि मिडियाले सत्य सूचना तथा विचार अभिब्यक्तीको मञ्चका रुपमा काम गर्नुपर्ने आबश्यकता छ । मिडिया मार्फत राजनीतिक पार्टी र उम्मेदवारको सर्वसाधारण एवं आफ्ना मतदातासम्म ब्यापक पहुँच सम्भव हुन्छ ।

मिडिया स्वतन्त्र, निष्पक्ष र लोकतान्त्रिक चरित्र अवलम्वन गरेको भएमा मात्र निर्वाचनमा सार्थक भूमिका रहन्छ । अन्यथा मिडियाले जनतालाई सुसूचित गर्नुपर्ने कर्तब्य पूरा गर्न सक्दैन । निर्वाचन प्रक्रियालाई स्वच्छ,निष्पक्ष र समतामुलक बनाउनमा पनि मिडियाले योगदान गर्न सक्छ । स्वतन्त्र, निष्पक्ष र सक्रिय मिडियाको उपस्थिति नरहेको अबस्थामा चुनाबी धाँधलीको सम्भावना बढि हुने बिभिन्न अनुसन्धानले देखाएको छ । निर्वाचनका क्रममा मिडियाले पारदर्शिता संयन्त्र वा पहरेदार भूमिका निर्वाह गर्छ । साभारः अग्रिम साप्ताहिक