विद्यालयमा गरीब, द्वन्दपीडितलगायतलाई कुनै शूल्क नलाग्ने

तुलसीपुर,५ कात्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित पशुपति मावि हरीपौरीले गरीब,द्वन्दपीडित लगायतलाई कुनै पनि शूल्क लिने गरेको छैन । गरीब, जेहेन्दार, द्वन्दपीडित, पिछडिएको वर्ग एवं वडा कार्यालयको सिफारिशबाट आउने अन्य विद्यार्थीहरूलाई कुनै पनि शूल्क नलिईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले बताए । उनका अनुसार विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर यो कुरा लागु गरिएको हो ।

सोही विद्यालयबाट एसइई उतिर्ण गरि कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिश गरेका विद्यार्थीहरूलाई प्रमाणपत्रलगायत अन्य शूल्क निःशुल्क गर्ने निर्णय गरेको हो । लक्षित विद्यार्थीहरूको आर्थिक अबस्था कम्जोर हुने भएकाले यो निर्णय गरि कार्यान्वयन गरिएको अध्यक्ष अधिकारीको भनाई छ । उनका अनुसार ४ र्वदेखि उक्त विद्यालयमा कक्षा १२ सम्म व्यवस्थापन संकायमा सञ्चालनमा छ ।

कक्षा ११ र १२ सञ्चालन भएको ४ वर्ष भएपनि एक जना राहात र एक जना स्थायी शिक्षक मात्रै रहेको उनको भनाई छ । “हामीले व्यवस्थापन शंकाय चलाएको चार वर्ष भयो, अहिलेसम्म शिक्षक अभाब छ”,उनले भने “एक जना राहात र एक जना मात्रै स्थायी हुनुहुन्छ, हामीले निजि स्रोतबाट शिक्षक ल्याएर पढाउनु पर्ने अवस्था छ ।”

निजि स्रोतका शिक्षकलाई वार्षिक ११ लाख रुपैयाँ तलब खुवाउनु पर्ने अवस्था रहेको उनको भनाई छ । निजि शिक्षकलाई आंशिक रुपमा राखिएको अध्यक्ष अधिकारीको भनाई छ । कक्षा ११ र १२ का विद्यार्थीबाट केही शूल्क लिने गरेको भन्दै त्यहीबाट नै तलब खुवाउने गरिएको छ । निजि शिक्षकलाई तलब खुवाउँदा बार्षिक ५ लाख घाटामा रहेको उनले बताए । अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट उठेको रकमबाट उक्त घाटा पूर्ति हुने गरेको छ । यस बिषयमा पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराएको भएपनि सुनुवाई नभएको उनको भनाई छ ।


कक्षा १ देखि १० सम्म भने १३ जना शिक्षक कार्यरत हुनुहुन्छ । कक्षा १२ सम्म सोही विद्यालयमा ४ सय १५ जना विद्यार्थी रहेका छन् । यस अघि सोही विद्यालयले एसइई पास गरेका विद्यार्थीको स्तान्तरण शूल्क १० हजार रुपैयाँ लिने गरेको भन्दै आलोचना पनि भएको थियो । त्यसमा तुलसीपुर उपमहानगरपालिकाले शूल्क तोकेपछि भने त्यही शूल्क लागु गरिएको छ ।

चुहिने भवन
विद्यालयको भवन चुहिने अवस्थामा छ । वर्षादमा त्यही चुहिने भवनमा विद्यार्थीहरू पढ्न बाध्य हुन्छन् । विद्यालयको एउटा तीन कोठे पुरानो भएकाले चुहिने गरेको अध्यक्ष अधिकारीको भनाई छ । साभारः अग्रिम साप्ताहिक