गणेशले दिए जन्मदिनमा आश्रितलाई खाजा

तुलसीपुर, २१ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं.२ निवासी गणेश भण्डारीले जन्मदिनमा मानव सेवा आश्रममा आश्रितहरुलाई खाजा खुवाएका छन् ।

सोमबार परेको जन्मदिनको अवसरमा उनले आश्रमका आश्रितहरुलाई विहानाको खाजा खुवाएका हुन् । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष दुजमान भण्डारी‘बर्षात’ले सबैले जन्मदिनलाई यसरी नै मनाउनु पर्ने बताए ।


उनले जन्मदिनमा फजुल खर्च भन्दा पनि यसरी नै सामाजिक कार्य गर्नुपर्ने बताए । त्यस अवसरमा पत्रकार दिपक बोहराले पछिल्लो समय जन्मदिनमा अनाबश्यक खर्च गर्ने क्रम बढिरहेको भन्दै यस्ता कार्यले समाजलाई नकारात्मक मार्गमा लैजाने बताए । त्यसैले पनि सबैले यस्तै कार्य गर्नुपर्ने बताएका थिए ।

भण्डारीले जन्मदिनमा सामाजिक कार्य गर्नु पर्ने कुराको सन्देश दिन यस्तो कार्य गरिएको बताएका थिए । त्यस अवसरमा तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्ण विक्रम डाँगी, तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीलगायतको सहभागिता रहेको थियो ।