तुलसीपुर, १८ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित पशुपति मावि हरीपौरीले गरीब,द्वन्दपीडितलगायतलाई कुनै पनि शूल्क लिने गरेको छैन ।
गरीब, जेहेन्दार,द्वन्दपीडित,पिछडिएको बर्ग एवं वडा कार्यालयको सिफारिशबाट आउने अन्य विद्यार्थीहरुलाई कुनै पनि शूल्क नलिईएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले बताए । उनका अनुसार विद्यालय ब्यबस्थापन समितिले निर्णय गरेर यो कुरा लागु गरिएको हो ।
सोही विद्यालयबाट एसइई उतिर्ण गरि कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिश गरेका विद्यार्थीहरुलाई प्रमाणपत्रलगायत अन्य शूल्क निःशुल्क गर्ने निर्णय गरेको हो । लक्षित विद्यार्थीहरुको आर्थिक अबस्था कम्जोर हुने भएकाले यो निर्णय गरि कार्यान्वयन गरिएको अध्यक्ष अधिकारीको भनाई छ । उनका अनुसार ४ बर्षदेखि उक्त विद्यालयमा कक्षा १२ सम्म ब्यबस्थापन संकायमा सञ्चालनमा छ ।
कक्षा ११ र १२ सञ्चालन भएको ४ बर्ष भएपनि एक जना राहात र एक जना स्थायी शिक्षक मात्रै रहेको उहाँको भनाई छ ।“हामीले ब्यबस्थापन शंकाय चलाएको चार बर्ष भयो, अहिलेसम्म शिक्षक अभाब छ”,उनले भने “एक जना राहात र एक जना मात्रै स्थायी हुनुहुन्छ, हामीले निजि स्रोतबाट शिक्षक ल्याएर पढाउनु पर्ने अबस्था छ ।”
निजि स्रोतका शिक्षकलाई बार्षिक ११ लाख रुपैँया तलब खुवाउनु पर्ने अबस्था रहेको उहाँको भनाई छ । निजि शिक्षकलाई आंशिक रुपमा राखिएको अध्यक्ष अधिकारीको भनाई छ । कक्षा ११ र १२ का विद्यार्थीबाट केही शूल्क लिने गरेको भन्दै त्यहीबाट नै तलब खुवाउने गरिएको छ । निजि शिक्षकलाई तलब खुवाउँदा बार्षिक ५ लाख घाटामा रहेको उनले बताए । अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट उठेको रकमबाट उक्त घाटा पूर्ति हुने गरेको छ । यस बिषयमा पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराएको भएपनि सुनुवाई नभएको उनको भनाई छ ।
कक्षा १ देखि १० सम्म भने १३ जना शिक्षक कार्यरत छन् । कक्षा १२ सम्म सोही विद्यालयमा ४ सय १५ जना विद्यार्थी रहेका छन् । यस अघि सोही विद्यालयले एसइई पास गरेका विद्यार्थीको स्तान्तरण शूल्क १० हजार रुपैँया लिने गरेको भन्दै आलोचना पनि भएको थियो । त्यसमा तुलसीपुर उपमहानगरपालिकाले शूल्क तोकेपछि भने त्यही शूल्क लागु गरिएको छ ।
चुहिने भवन
विद्यालयको भवन चुहिने अबस्थामा छ । बर्षादमा त्यही चुहिने भवनमा विद्यार्थीहरु पढ्न बाध्य हुन्छन् । विद्यालयको एउटा तीन कोठे पुरानो भएकाले चुहिने गरेको छ ।
लाइभदाङ । १८ आश्विन २०८१, शुक्रबार ०९:३८ बजे