शान्तिनगरका अध्यक्ष भन्छन्‘पहिले केन्द्र सार्ने अदालतले भनेको थियो , अहिले नसार्नु भन्ने आदेश आएछ’

तुलसीपुर, १५ असोज । सर्वोच्च अदालतले दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र नसार्न आदेश गरेको छ । शान्तिनगर गाउँपालिका वडा नं. ४ मा रहेको पालिकाको केन्द्रलाई गएको भदौ २ गते जुम्लेकुला सारिएको थियो ।

तर, ६ असोजमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधानको इजलासले चिराघाटको केन्द्र नसार्न अन्तरिम आदेश दिएको छ ।‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ (५) मा गाउँपालिका वा नगरपालिकाको केन्द्र परिवर्तन गर्दा सम्बन्धित सभाले पारित गरि प्रदेश सभामार्फत नेपाल सरकारमा पेश गर्नुपर्ने र नेपाल सरकारले निर्णय गर्नुपर्ने भएपनि उक्त दफा बमोजिम कार्यविधि र समयावधिको पालना नगरेको देखिन आएको तथा गाउँपालिकाले जुम्लेकुला केन्द्र सार्दा कानुन विपरीतको काम गरेको देखिन आएको’ अन्तरिम आदेशमा उल्लेख गरिएको छ । केन्द्र सारिएको विषयमा १५ दिन भित्र जवाफ दिन पनि पालिकालाई भनिएको छ ।

यसअघि उच्च अदालत तुलसीपुरले २०७५ असार २० गते गाउँपालिका चिराघाटबाट अन्यत्र नसार्न फैसला गरेको थियो । त्यसैलाई आधार बनाएर सर्वोच्चले आदेश दिएको छ । यद्यपी पालिका अध्यक्ष बस्नेतले यस अघि नै सर्वोच्चले पालिका सार्ने भनि आदेश दिएको बताए ।


सोही अनुरुप पनि पालिकाको सभा तथा सर्वदलिय बैठक बसेर पनि पारीत गरेपछि सारिएको बताए । तर, आधिकारिक रुपमा भने अदालतको पत्र आफूकहाँ नआएको अध्यक्ष बस्नेतले बताए । उनका अनुसार पत्र आएपछि सोही अनुरुप १५ दिन भित्र प्रमाणसहित जवाफ दिइनेछ ।

चिराघाट स्थित कार्यालयमा फोन सेवा पनि प्रभाबकारी थिएन, भने पायक पर्ने ठाउँमा पनि नभएको उनी बताउछन् । उनका अनुसार लुम्बिनी प्रदेशको मन्त्री परिसदको बैठकले पनि ८ भदौमा जुम्लेकुरा सार्ने कुरालाई सदर गरेको छ ।