
तुलसीपुर, १९ चैत । आज(सोमबार)देखि दाङको तुलसीपुर १२ स्थित टरिगाउँ विमानस्थलमा जहाज बस्न सुरु गरेका छ । तीन महिनापछि हवाई सेवा सुरु भएको हो । अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए । उनका अनुसार यात्रुको माग अनुसार उडान थप गर्न पनि सकिनेछ । सोमबार काठमाडौंबाट दाङ ८ जना यात्रु गएपनि दाङबाट २ जना मात्रै काठमाडौं गएका थिए ।
विहान साढे ११ बजे तुलसीपुरबाट काठमाडौं उडान भरेको हो ।
विमानस्थलमा हवाई सेवा पटक–पटक अबरुद्ध हुँदै आएको छ । यस पटक २ पुसदेखि हवाई सेवा अबरुद्ध भएको थियो । विमानको इन्जिनमा समस्या भएपछि सेवा अबरुद्ध भएको थियो । तर, अहिले इन्जिन मर्मत भएकाले पुनः सूचारु गरिएको हो । उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानु पर्ने अबस्था छ ।
विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्रै बस्दा पनि अनियमित हुने हुँदा यात्रुहरु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अबस्था रहेको छ ।
हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो ।



लाइभदाङ । १८ चैत्र २०८१, सोमबार ११:५८ बजे