रोशनी–शरद हत्या काण्ड सार्वजनिक : बदेल मार्न थापिएको पाशोमा परे

दीपक बोहरा
दाङ,२० कात्तिक ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित जनकल्यान सामुदायिक बनमा मृत फेला परेका दुई किशोर किशोरीको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले चारजनालाई सार्वजनिक गरेको छ । आईतबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलन गरि हत्यामा संलग्न ४ जनालाई सार्वजनिक गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं.वडा नं.१३ डाँडागाउँ स्थित १५ बर्षीया रोशनी महतारा र दंगीशरण गाउँपालिका वडा नं.६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ बर्षीय शरद आचार्यको हत्यामा संलग्न भएको भन्दै तुलसीपुर १३ निवासी ३९ बर्षीय गणेश भन्ने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ बर्षीय नुमानन्द कार्की, ३१ बर्षीय खिमबहादुर बुढा र ४७ बर्षीय प्रकाश भन्ने अम्मर राज कार्कीलाई पक्राउ गरि सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक विरबहादुर वलीका अनुसार बदेल मार्नकालागि थापेको विद्युतको पासोमा परेर उनीहरु दुबै जनाको मृत्यु भएको हो । असोज २७ गते राति १० बजेतिर गणेश भन्ने हरिष चन्द्र पौडेलको घरबाट विद्युत लिएर नजिकैको जंगलमा बदेल मार्नकालागि पासो थापेको र त्यही पासोमा परेर उनीहरुको राति नै मृत्यु भएको प्रहरीले बताएको छ । पासो थापेका अमरराज कार्की र गणेश भन्ने हरिश चन्द्र पौडल असोज २८ गते विहान साढे ५ बजेतिर हेर्न जाँदा दुबै जना मृत अबस्थामा फेला पारेका थिए । त्यसपछि उनीहरु दुबैले सल्लाह गरेर शवलाई जंगलको झाडीमा फाले । उनीहरुसंग भएका मोवाईल र चप्पललाई समेत जंगलको झाडीमा लुकाई छिपाई राखे । सोही दिन राति १० बजेतिर अमरराज कार्की,पौडेलसहित खिमबहादुर बुढा र नुमानन्द कार्कीले ति शबलाई गाड्ने सहमति गरे । त्यो सहमति पछि अमरराज कार्कीको घरबाट फोरुवा ल्याएर उनीहरुले करेन्ट लागेदेखि नजिकैको खोल्सोमा गाडेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक वलीले बताए ।

उनका अनुसार अभियुक्त चारजनाले लुकाई छिपाई राखेको अबस्थामा करेन्ट लगाउन प्रयोग भएको विजुलीको वाईरिङ तार ७६ मिटर १ इन्च, साना ७ वटा बाँस,फलामको वाइरिङ तार, किल्ला खन्न प्रयोग भएको फोरुवा १ थान, शव बोक्न प्रयोग भएको कुखुराको दाना राख्ने बोरा बरामद भएको प्रहरीले बताएको छ । बोरा जलेर नष्ट भएको अबस्थामा भेटिएको थियो । उनीहरु चारैजनालाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको छ । रोशनी र शरदको शव असोज ३० गते दिउसो भेटिएको थियो । उनीहरु घरबाट असोज २७ गते हराएका थिए । मृतक दुबै जना त्यो बनमा किन गएका थिए, भन्ने कुरा अनुसन्धानकै विषय रहेको प्रहरी उपरीक्ष वलीले बताए ।


टिप्पर चालकहरु निर्दोश देखिए
घटना घट्न साथ प्रहरीले एक टिप्पर चालकलाई पक्राउ ग¥यो । ति टिप्पर चालककै बयानका आधारमा थप अर्का ब्यक्ती पनि पक्राउ परे । तर, ति दुबै जना निर्दोष देखिए । प्रहरीका अनुसार एक टिप्पर चालकले आफूले हत्या गरेको स्वीकार गरेका थिए । तर, अनुसन्धान गर्दै जाँदा उनीहरु दुबैजनाले हत्या गरेको पुष्टि भएन । प्रहरीले पोष्टमार्टम रिपोर्टलगायतका अन्य रिपोर्ट र विज्ञको अनुसन्धानबाट निर्दोश देखिए । उनीहरु निर्दोश देखिएपनि प्रहरीको हिरासतमै छ । उनीहरुलाई अन्य विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।

यो विषयमा अनुसन्धान लुम्बिनी प्रदेश प्रहरी, जिल्ला प्रहरी तथा इप्रका तुलसीपुरको अनुसन्धान टोली खटिएको थियो, भने काठमाडौंबाट विज्ञ टोली तथा कोहलपुरबाट कुकुर समेत ल्याईएको थियो । उनीहरु दुबैजनाको पोष्टमार्टम पछि एकै स्थानमा बबईमा अन्त्येष्टी गरिएको थियो ।