कुबेर शाह स्मृति कप भलिबलको उपाधि ज्ञानज्योतीलाई

लक्ष्मण बस्नेत
दाङ, ५ असोज ।
दाङ तुलसीपुर अरनिको मैदानमा सञ्चालित स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी ज्ञानज्योती कलेज तुलसीपुरले जितेको छ।

नेपाली काँग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राबिधिक ब्यबस्थापनमा अरनिको खेल मैदान तुलसीपुरमा सञ्चालित प्रतियोगिताको फाइनल खेलमा ग्रेट अरनिको मावि तुलसीपुर २५–१३,२५–१४ र २५–१४ अर्थात ३–० को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योतीले उपाधी चुमेको हो ।

उपाधीसंगै उसले नगद एक लाख पाँच हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा पराजित अरनिको उपबिजेतामा सिमित रहदै नगद ६५ हजार, कप मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो। त्यस्तै हेलो मोबाई ए तुलसीपुरले तृतिय स्थान हात पार्‍यो । तृतिय नगद पुरस्कार ३५ हजार,कप प्रदान गरिएको थियो ।


तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र बिस्तारमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृती तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा बेष्ट प्लेयर खेलाडी ज्ञानज्योती कलेजका हेमन्त मल्ल भए । उनले नगद ३५ सय र ट्रफी हात पारे ।

त्यस्तै वेष्ट ब्लकर ज्ञान ज्योतिकै चिरण खड्का, वेष्ट स्पाइकर ग्रेट अरनिकोका बिक्रम बोहरा,बेष्ट सेटर ज्ञानज्योतिका सुवास कवर,वेष्ट लिब्रो ग्रेट अरनीकोका अविशेक वली र वेष्ट सर्भर ग्यानज्योतिका मनिष मानन्धरलाई क्रमशः जनही २५ सयका दरले नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो । तीन दिन सम्म संचालित प्रतियोगिता १२ टिमको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह नेपाली काँग्रेस तुलसीपुर नगर सभापती सुरेश हमालको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री माननीय दिपक गिरीको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य माननीय दिपक गिरी,नेपाली काँग्रेस क्षेत्र नं. ३ (ख) का सभापती खिम बहादुर वली, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत लगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस तुलसीपुर नगर सचिव बिमल पौडेलले गरेका थिए ।