प्रथम कुबेर बहादुर शाह स्मृति कप भलिबल जारी, शनिबार सेमिफाइनल र फाइनल खेल हुने

लक्ष्मण बस्नेत
दाङ, ४ असोज ।
दाङ तुलसीपुर अरनिको मैदानमा जारी स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ मा भोलि सेमिफाईनल र फाईनल खेल हुने भएका छन् ।

नेपाली काग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राविधिक ब्यबस्थापनमा संचालित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एच आर मिडिया हाउस तुलसिपुर र ग्रेट अरनिको माबी तुलसिपुर भिड्नेछन् । खेल बिहान सात बजे देखी सुरु हुनेछ ।

त्यस्तै दोस्रो सेमिफाईनलमा हेलो मोबाईल ए र ज्ञानज्योती कलेज तुलसीपुर आमनेसामने हुनेछन् । आज शुक्रबार सम्पन्न खेलमा लियो क्लब अफ तुलसीपुरलाई २–० को सोझो सेटमा पराजित गर्दै ग्रेट अरनिकोले सेमिफाइनल यात्रा तय गरेको हो । त्यस्तै दङ्गिशरण गाउँपालिकालाई २–० को सोझो सेटमा पराजित गर्दै एच आर मिडिया हाउस सेमिफाइनल प्रवेश गरेको हो ।

त्यसैगरी ड्राईभर स्टाप रोल्पालाई सोझो सेटमा पराजित गरि हेलो मोबाईल ए ले सेमिफाइनल यात्रा तय गर्दा ज्ञान ज्योती कलेज हेलो मोबाईल बि लाई २–० को सोझै सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको प्राविधिक संयोजक राजु यरिले जानकारी दिनु भएको छ ।


तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको विकास र विस्तारमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृती तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको विकास र प्रवर्द्धनसंगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको बिजेता टिमले नगद एक लाख पाँच हजार,कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद ६५ हजार र ३५ हजार रुपैयाँ, कप,मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई पुरस्कृत गरिनेछ ।

जसअनुसार बेष्ट प्लेयर हुने खेलाडिले तीन हजार पाँच सय, नगद ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै बेष्ट सेटर, वेष्ट सर्भर, वेष्ट स्पाइकर,वेष्ट ब्लकर र वेष्ट लिब्रो लाई क्रमशः जनही दुई हजार पाँच सयका दरले नगद तथा ट्रफी,प्रदान गरिने नेपाली काग्रेस तुलसीपुर नगर कार्यसमिती सदस्य गोरख वलिले जानकारी दिनु भएकोछ ।