परिबर्तनकालागि काँग्रेसले पनि हतियार उठाएको इतिहास छ : अपार

दाङ, १ असोज । राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा(अपार)ले परिबर्तनकालागि सबै पार्टीले मुलुकमा क्रान्ति गरेको बताएका छन् ।

राष्ट्रियसभा बैठकमा बोल्दै अपारले राणा विरुद्ध विपी कोइरालाको नेतृत्वमा काँग्रेसले हतियार उठाएको बताए ।‘मुलुका जनताको अबस्था दयनीय हुँदा राणाहरुले बेयायतबाट एलिजा बेद आउँदा गरेको तडकभडक देखेर विराटनगरका कृष्णप्रसाद कोइरालाले राणालाई जुम्रा परेको, च्यातिएको कपडा गिफ्ट पठाएपछि देश निकाला गरिएको थियो’, उनले भने‘राणाहरुको यस्तो कदम विरुद्ध विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा हतियार नउठाएको भए मुलुकबाट राणा शासन हट्ने थिएन, सहजै राणा फाल्न सकिने भए वीपीले हतियार पनि उठाउनु पर्ने थिएन ।’

त्यही क्रममा २०३१ सालमा काँग्रेसकै निर्देशनमा दुर्गा सुवेदीलगायतले विराटनगरबाट काठमाडौं जाँदै गरेको जहाज समेत अपहरण गरेकोजस्ता गतिबिधिहरु भएको भन्दै राजनीतिक रुपमा परिबर्तनकालािग गरिएका यस्ता कार्यलाई गलत रुपमा ब्याख्या गर्न नहुँने उनको भनाई थियो ।


राणा फाल्नलाई जसरी काँग्रेसले हतियार उठाएको थियो, त्यसरी नै मुलुकमा जरो गाडेर बसेको राजतन्त्रलाई अन्त्य गर्न माओवादीले गरेको जनयुद्धलाई गलत ब्याख्या गर्ने गरिएकोप्रति उनको आपत्ति थियो । ‘प्रष्ट उद्देश्य देखाएर हामीले युद्ध गरेका हौं, हामीले जनयुद्धलाई राजनीतिक संघर्षका रुपमा अगाडी बढाएका हौं । तर, यसलाई हिंसा देख्नु गलत हो ।’

माओवादी जनयुद्धकै जगमा १९ दिने आन्दोलन भएको र त्यही आन्दोलनले गणतन्त्र स्थापना गर्न सफल भएको भन्दै यो उपलब्धीलाई रक्षा गर्नु अहिलेको दायित्व रहेको उनको भनाई थियो ।