तुलसीपुरमा ज्यान सम्बन्धि र सार्वजनिक शान्तिका घटना बढे

दाङ, १७ भदौ ।
दाङको पश्चिम क्षेत्रमा ज्यान सम्बन्धि र सार्वजनिक शान्ति सम्बन्धि घटना बढेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरको कार्यक्षेत्र रहेको तुलसीपुर उपमहानगरपालिका सहित दंगीशरण गाउँपालिकामा यस्ता घटना बढेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखे्रलका अनुसार गएको आर्थिक वर्ष २०८०/०८१ मा ज्यान सम्बन्धि एकसय २ वटा घटना भएका छन् । यो पछिल्लो तीन आर्थिक वर्षकै बढि हो । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ८२ र २०७८/०७९ मा ९३ वटा घटना भएका थिए ।

 त्यस्तै सार्वजनिक शान्ति, सार्वजनिक हित, सुरक्षा र नैतिकता विरुद्धका एकसय ३० वटा मुद्दा परेका छन् । अघिल्लो आर्थिक बर्ष २०७९/०८० मा ८३ वटा र आर्थिक वर्ष २०७८/०७९ मा ९६ वटा मुद्दा परेका थिए । पछिल्लो समय यो शीर्षकमा पनि मुद्दाहरू बढिरहेको प्रहरी प्रमुख समेत रहेका पोख्रेलले बताए ।

त्यस्तै महिला तथा बालबालिका सम्बन्धि ७८, सवारी सम्बन्धि ३१, अन्य ६१ वटा घटना भएका छन् । यी शीर्षकमा घटना बढेपनि केही शीर्षकमा भने घटना अघिल्लो वर्षहरू भन्दा कम भएका छन् ।  उनका अनुसार गएको वर्ष आत्महत्याका ७७, चोरी सम्बन्धि ३९, संगठित तथा आर्थिक अपराधमा १७ वटा घटना भएका थिए । यि शीर्षकमा विगत भन्दा गएको वर्ष घटेको देखिएको छ ।


गएको आर्थिक वर्षमा पाँच सय ४३ मुद्दा परेका छन् । अघिल्लो आर्थिक वर्षमा चारसय मात्रै मुद्दा परेका थिए । गएको वर्ष ३ सय ७४ मुद्दा फर्छर्यौट भएको र एकसय ६९ बाँकी रहेको उनको भनाई छ ।

त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा सम्बन्धि ९ सय ३२ निवेदन परेका छन् । घरेलु हिंसा ५० वटा, सामाजिक हिंसा ४ सय ४८, खोजतलास ४ सय ३४ गरि जम्मा ९ सय ३२ निवेदन परेकोमा ७ सय ८० फर्छर्यौट भएका छन्, भने एक सय ५२ वटा बाँकी छन् ।  त्यस्तै एक हजार एक सय ११ वटा ठाडो उजुरी परेकोमा ८ सय ७२ मिलापत्र भएका छन्, भने २ सय ४२ बाँकी छन् ।

यस क्षेत्रमा प्रायः पुसमा बढि घटना हुने गरेका छन्, भने शुक्रबार र बुलुका ६ बजेदेखि १२ बजेसम्म बढि अपराधिक क्रियाकलाप हुने गरेको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए । साभारः अग्रिम साप्ताहिक