आज थारू समुदायको बर्का अट्वारी पर्व, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक विदा

दाङ, २३ भदौ ।
थारू समुदायको बर्का अट्वारी पर्व आज मनाइँदै छ। पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ। यो पर्व निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ।

थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन्। पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ। कुशे औंशीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ।


आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ। लुम्बिनी प्रदेशमा बाहुल्यता रहेको थारू समूदायमा यो पर्व विशेष रुपमा मनाइन्छ।

यस पर्वको अवसरमा लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक विदा दिइएको छ। लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी जिल्लामा सार्वजनिक विदा दिइएको छ।