विद्यार्थीलाई सर्पको पहिचान गर्न सिकाइयो

तुलसीपुर, २० भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं.२ स्थित मावि बालापुरमा सर्पदंश तथा सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण भएको छ । लियो क्लब अफ तुलसीपुरको आयोजनामा बिद्यार्थी र शिक्षकहरुलाई दिइएको अभिमुखिकरणमा लामो समयदेखि सर्पको उद्दार कार्यमा खटिएका उद्दारकर्ता प्रभात भण्डारीले विश्वमा हरेक वर्ष ५५ लाख मानिसलाई सर्पले टोक्ने गरेको र जसमा २० हजार मानिसको ज्यान जाने गरेको तथ्यांक रहेको बताए ।

भण्डारीले नेपालमा हरेक वर्ष ४० हजार मानिसलाई सर्पले टोक्ने गरेको र ३ हजारको बर्सेनि ज्यान जाने गरेकाले सर्तकता आवश्यक रहेको बताए । सर्पको टोकाइबाट मृत्यु हुनेमा तराइका मानिस बढी हुने र कृषिमा आधारित परिवार बढी प्रभावित भइरहेका बताए । सर्प सबै बिषालु नहुने बताउँदै विषालु सर्पका पनि कोही टोकाइ कम बिषालु र कोही टोकाइ बढी बिषालु हुने गरेकाले सुख्खा टोकाइले विष नलाग्ने, भिजेको टोकाइले विष लाग्ने बताए । यहाँ कोबरा, करेत सर्पले टोक्दा ज्यान जाने जोखिम बढी रहेको उनको भनाई छ ।

विषालु सर्पको ठुलो दाँत हुने भएकाले सर्पले टोकिहालेमा घाउ हेरेर, सर्प हेरेर थाहा पाउन सकिने भएकाले सर्प चिन्न बढी आवश्यक रहेकोमा जोड दिए । भण्डारीले दाङ सहित देशका विभिन्न जिल्लामा सर्पको उद्दार गर्दै आएका छन् । सर्पलाई मार्न नहुने तर उद्दार गर्नुपर्ने बताउने उनले अहिलेसम्म १०० बढी सर्पको उद्दार गरेका छन् ।

प्रमुख अतिथि तुलसीपुर उपमहानगर पालिका वडा नं २ का वडाअध्यक्ष भिम बहादुर योगीले तुलसीपुर क्षेत्रमा सर्पको बिगबिगी हुने समय वर्षातको समय हुने भएकाले नागरिकले आवश्यक साबधानी अपनाउनु पर्ने बताए । उनले बालबालिकालाई समेत सर्पदंशबारे जानकारी दिने, सचेत गराउने, बच्न सावधानी अपनाउन आवश्यक रहेको बताए ।


मावि बालापुरका प्रअ गणेशमान खड्काले अभिमुखिकरणमा सर्प र सर्पदंशबारे धेरै जानकारी भएकाले बालबालिकालाई सिकाउन सहज हुने बताए ।

सर्पदंशबाट जोगिन मानिस राति हिँड्नु परे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गम बुट लगाउने, खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने, घर वरपरको घाँस, झारपाट काटेर सफा राख्ने, काठ, ढुंगा, टुटेफुटेका सामानको थुप्रो हटाउने, जमिनका प्वालहरु टाल्ने, पराल, दाउरा आदि तान्न जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओच्छ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने, झुल टाँगेर सुत्ने, सर्प देखे टाढै रहने गर्नुपर्छ ।

सर्पले टोकिहालेमा डसेको ठाउँलाई चल्न नदिइ स्थिर राख्ने, सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने ,बाँध्ने काम नगर्ने, कुनै पनि मलम, रासयनिक पदार्थ, तातो चिसो प्रयोग नगर्ने, बिरामीको आत्मविश्वास कामय राख्ने, सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने, बिरामीलाई जतिसक्दो चाँडो अस्पताल वा सर्पदंश केन्द्र पुर्याउने काम गर्नुपर्छ ।

बिद्यालयका प्रअ गणेशमान खड्काको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको सहजीकरण लियो क्लब अफ तुलसीपुर का सचिव गणेश भण्डारीले गरेका थिए ।