डबल डिग्री गरेका डिएसपी ‘पोख्रेल’

टेकराज भण्डारी
नेपाल प्रहरीका एउटा अब्बल अधिकृत हुन्–ठाकुर पोख्रेल । ठाकुर पोख्रेलको जन्म २०३३ जेठ २८ गते नेपालको तत्कालिन पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं २ फलामखानी गाउँमा भएको हो । उनी सानैदेखि पढाइमा अब्बल थिए ।

उनले स्थानीय शारदा निमाविमा ७ सम्म अध्ययन गरे । उनले अमर ज्योती जनता मावि लईंटेल बाट २०४९ सालमा तत्कालिन एसएलसि पास गरे । त्यसपछि उनी उच्च शिक्षा अध्ययनको लागि काठमाडौं पुगे । उनले टियुबाट व्यवस्थापनमा स्नातकोत्तर गरे । त्यसपछि पुनः राजनीतिक शास्त्रबाट स्नातकोत्तर पास गरे ।

उनले २०६१ साल जेठ १५ गते नेपाल प्रहरीमा प्रवेश गरेका हुन । उनी अहिले प्रहरी नायब उपरीक्षक छन् । ‘प्रहरी राज्यको सुरक्षाप्रदायक हो । सार्वजनिक विश्वास र सहयोग, कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी जनता र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य प्रहरी संगठनको हो’, उनले भने‘राज्यद्वारा प्रदान गरिने सार्वजनिक सुरक्षाका सन्दर्भमा प्रहरी सदा अग्रपंक्तिमा रहन्छ। सर्वसाधारणको दैनिकीमा प्रहरीको क्रियाकलापको प्रत्यक्ष वा परोक्ष रूपमा असर रहन्छ।’


कानुनको शासनको सम्मान, मानवअधिकारको सम्मान, जवाफदेहिता, पारदर्शिता, स्पष्ट कानुनी भूमिका र पेसागत व्यवस्थापन, सार्वजनिक सेवाको व्यवस्था तथा अहिंसात्मक विधि र बलको न्यूनतम उपयुक्त प्रयोग गरी जनताद्वारा निर्वाचित संसद्ले बनाएका कानुनको परिधिभित्र रही समाजमा शान्ति सुरक्षा कायम गर्न कार्यसम्पादन गर्ने सांगठनिक निकाय लोकतान्त्रिक प्रहरी संगठन हो भन्ने मैले बुझेको छु ।

आज समाज निकै जटिल समस्याले ग्रसित छ । समाजमा बस्ने सबैमा सकारात्मक सोच हुँदैन । गलत क्रियाकलापमा संलग्न हुने एक÷दुई जनाले समाजमा अपराध जन्माउँछन् । त्यसबाट जब लाभ हुन थाल्छ उनीहरू अझ उत्साहित बन्छन् र विभिन्न समूह बनाएर धेरै स्थान आपराधिक क्रियाकलाप फैलाउँदै जान्छन् । त्यस्तो अमानवीय र कानुनले निषेध गरेको कार्यलाई नियन्त्रण गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्ने गहन जिम्मेवारी सम्हालेर रहने प्रहरी वास्तवमा सिंगो देशका पहरेदार हुन् । आफ्नो घरपरिवार इष्टमित्र जात्रा पर्व कोहीको वास्ता नगरी हरदम राष्ट्र सेवामा तल्लीन रहने राष्ट्रसेवक प्रहरीहरूको योगदान हरेक क्षेत्रमा छ ।

उनको परिवारमा श्रीमती २ छोरा छन् । मानिस जन्मेदेखि नै सिप, कला तथा केही न क्षमता लिएर जन्मेको हुन्छ । हरेक मानिसको जीवनमा केही न केही लक्ष्य हुन्छन् । उनले आफ्नो आन्तरिक क्षमतालाई बुझेर लक्ष्य निर्धारण गर्नुपर्ने बताए । लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरू आएपनि त्यसलार्य सहजै चिर्न सक्नु पर्ने उनको बुझाई छ । साभारः अग्रिम साप्ताहिक