राप्तीका अध्यक्ष विष्टको अनुकरणीय काम: विपन्न बिरामीको उद्वारपछि निःशुल्क उपचार

देउखुरी, १३ भदौ ।
दाङको राप्ती गाउँपालिका वडा नं. २ बराखुटीका बसन्त बोटेले आठ महिना अघि सम्म मजदुरी गरेर जसोतसो आफ्नो घरव्यवहार चलाइरहनु भएको थियो। तर गत माघ महिनादेखि उहाँलाई एक्कासि स्वास्थ्य समस्या देखिन थालेपछि घरव्यवहार मात्र होइन उपचार समेत गर्न कठिन भयो।

श्रीमानको स्वास्थ्यमा समस्या देखिएपछि श्रीमती लक्ष्मी बोटेले आफन्तसँग ऋण सापट गरेर उपचारका लागि स्थानीय मेडिकल हुँदै भैरहवा अस्पताल सम्म पुर्‍याउनुभयो। उपचारको क्रममा कलेजोमा समस्या देखिएपछि केही दिन अस्पतालमा भर्ना भएर एक महिनाको औषधि लिएर घर फर्कनुभयो। केही समय त स्वास्थ्यमा सुधार भयो, तर पछि पुनः उहीँ समस्या बल्झियो।

“ऋण सापट गरेको रकम पनि पहिलोपल्टको उपचारमै सकियो। पुनः उपचारका लागि अस्पताल लैजान पैसा भएन,” लक्ष्मी बोटेले भन्नुभयाे,- “कमाउने उमेरमा घरको प्रमुख व्यक्ति नै थला परेपछि हातमुख जोड्न समस्या भइरहेको छ। उपचार त परको कुरा।”

उनी आर्थिक अभावका कारण उपचार गर्न नसकेर छटपटाइ रहेका बसन्त बोटेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्धार गरि निःशुल्क उपचारको व्यवस्था गर्दै मानवता र सेवाभावको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएकाे। आर्थिक अभावका कारण बोटेको उपचार हुन नसकेको थाहा पाए लगत्तै अध्यक्ष विष्टले आफ्नो सवारीसाधनमा तुरुन्तै बुटवलस्थित क्रिमसन अस्पतालमा पुर्‍याएर उपचार थाल्नुभएको हो।


बिरामीको अहिले अस्पतालमा भर्ना गरेर उपचार गरिदैछ।उनकी श्रीमती लक्ष्मी बोटेले भन्नुभयो , “अध्यक्ष विष्टको यो सहायता हाम्रो परिवारको लागि संजीवनी साबित भएको छ। उहाँको सेवाभाव र मानवता प्रति समर्पणले हामीलाई ठूलो राहत दिएको छ।”

अध्यक्ष विष्टको यो कदमले विपन्न समुदायका व्यक्तिहरूको स्वास्थ्य र सुरक्षामा उहाँको प्रतिबद्धता र तत्परता देखाउँछ। गाउँपालिकाको स्वास्थ्य सेवामा सुधार गर्न उहाँले महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ।

अध्यक्ष विष्टले विगतमा पनि आर्थिक अभावका कारण उपचार गर्न नसकेका कयौं विपन्न नागरिकलाई यसैगरी सहयोग गर्दै आउनुभएको छ। विष्टको यो कदमको स्थानीयहरूले प्रशंसा गर्दै यस्ता कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

विष्टको नेतृत्वमा राप्ती गाउँपालिका स्वास्थ्य र शिक्षा क्षेत्रमा एक उदाहरणीय पालिका बन्ने लक्ष्यका साथ अघि बढी रहेको छ।