तुलसीपुरमा सबै भन्दा बढि शूल्क लिने तीन निजि विद्यालय

दाङ, १२ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले निजि विद्यालयको शूल्क विवरण माग गरेपछि सबै विद्यालयले शूल्क विवरण उपलब्ध गराएका छन् । सोही शूल्क विवरण अनुसार गुरुकुल एकाडेमीले सबै भन्दा बढि शूल्क लिने गरेको पाईएको छ । गुरुकुल एकाडेमीले नर्सरीका विद्यार्थीहरुलाई ४ हजार ५ सय मासिक शूल्क लिने गरेको भनि उल्लेख गरेको छ । त्यो भन्दा माथिल्लो कक्षामा एक सय देखि दुईसयका दरले बृद्धि गर्दै लगेको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा अधिकृत मनबहादुर खड्काले बताए । उनका अनुसार कक्षा ९ सम्म गुरुकुलले पाँच हजार पाँचसय शूल्क लिने गरेको छ । यो मासिक शूल्क मात्रै हो । यसमा विद्यालयले दिने अन्य सेवाहरु समावेश गरिएको छैन ।

दोस्रो बढि शूल्क लिनेमा संस्कार पाठशाला रहेको छ । संस्कार पाठशालाले नर्सरीमा ३ हजार पाँच सय रुपैँया मासिक शूल्क लिने गरेको विवरण पठाएको छ । सोही विद्यालयले माथिल्लो कक्षामा नर्सरीको शूल्कमा दुईसय देखि एक हजारसम्म बढाउँदै लगेको देखिन्छ । उक्त विद्यालयले कक्षा १० मा ६ हजार पाँचसय मासिक शूल्क लिने गरेको भनि उल्लेख गरेको छ ।

त्यस्तै आचार्य कुलमले नर्सरीमा मासिक एक हजार ९ सय रुपैँया लिने गरेको उल्लेख गरेको छ । जसले माथिल्लो कक्षामा प्रत्येक कक्षामा दुईसयका दरले बढाएको विवरणमा देखिएको छ । तुलसीपुर उपमहानगरपालिका भित्र ६६ वटा निजि विद्यालय छन् । ति मध्ये अन्य विद्यालयले भने ९ सयदेखि एक हजार ८ सयसम्मको शूल्क लिने गरेका छन् ।


उद्यपी यो शूल्कमा ‘क्रस चेक’ गरिएको छैन । उनीहरुले पठाएको विवरण अनुसार नै शूल्क लिने गरेका छन्, वा बढि लिने गरेका छन्, भन्ने विषयमा अनुसन्धान भएमा तथ्य आउने अधिकृत खड्काले बताए । विद्यालयहरुले शूल्क अनुसारको सुविधा दिएका छन्, कि छैनन्, भन्ने विषयमा पनि अनुगमन हुने उनले बताए ।

चर्को शूल्क लिने गरेको भनि निजि विद्यालयहरुको विरोध हुने गरेको छ । यसलाई मध्येनजर गरि निजि विद्यालयलाई बर्गीकरण गर्ने तयारी गरेको छ। त्यसकालागि कार्यविधि बनाउने गरि तयारी रहेको अधिकृत खड्काले बताए । उनका अनुसार मेयरसावबाट सैद्धान्तिक सहमति भइसकेको छ । कार्यविधि बनाएर बर्गीकरण गरिने उनले बताए । ‘अहिले शूल्कमा पनि मनोमानि छ, कुन स्तरको विद्यालयले कति शूल्क लिने भन्ने छैन’,उनले भने‘ त्यो हुँदा अभिभावक मारमा पर्ने अबस्था छ,यसलाई हटाउनकालागि हामीले बर्गीकरण गर्ने तयारी गरेका हौं ।’ कुन बर्गमा परेको विद्यालयले कति शूल्क लिन पाउने भनेर तोक्ने गरि तयारी रहेको भन्दै यो नयाँ अभ्यास हुने उनको भनाई छ ।
छात्रबृतिको पनि गुनासो

निजि विद्यालयहरुले जम्मा विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रबृति दिनुपर्ने प्राबधान छ । तर, त्यो कार्यान्वयन भएको देखिदैन । कोही विद्यालयले एकै घरका तीन जना भर्ना भएमा एक जनालाई छुट दिएको, कसैले आफ्ना मान्छेलाई छुट दिएको, कसैलाई १० प्रतिशत छुट दिएको देखिएको अधिकृत खड्काले बताए । १० प्रतिशतलाई सत प्रतिशत नै छुट दिनुपर्ने भएपनि त्यसरी नदिएको उनको भनाई छ । त्यसलाई पनि नियमन गर्ने कार्य भइरहेको उनले बताए । साभारः अग्रिम साप्ताहिक