तुलसीपुर,१५ चैत । दाङको तुलसीपुर स्थित राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था(रफिकोल)ले रजत जयन्ती मनाएको छ । स्थापनाको २५ बर्ष पुगेको अबसरमा संस्थाले मंगलबार रजत जयन्ती मनाएको हो । २०५४ चैत १४ गते संस्था स्थापना भएको हो । जुन सहकारी ६६ लाख बढि नाफामा छ ।
सेयर सदस्यको पैसा छुट्याएर सोही रकम नाफामा रहेको अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले बताए । उनका अनुसार सहकारीमा हाल ३ हजार २ सय ९८ सेयर सदस्यहरु छन् । सहकारीको बैंक मौज्दात ३ करोड १२ लाख बढि छ, भने २१ करोड ८७ लाख २५ हजार बढि ऋण लगानी भएको छ । सहकारीको जम्मा १९ करोड १० लाख बढि रकम बचत रहेको छ । हाल ८ सय १० जनालाई ऋण लगानी गरिएको अध्यक्ष बुढाथोकीले बताए ।
सुरुवातमा ४१ जनाले सञ्चालन गरेको उक्त सहकारी हाल २५ बर्ष पुगेको छ ।
हाल उक्त सहकारीले दाङको तुलसीपुर उपमहानगरपालिकासहित दंगीशरण,बबई, शान्तिनरलगायतमा कार्यक्षेत्र रहेको छ । बबईको हंसपुर र शान्तिनगरको रगैजामा उक्त सहकारीको सेवा केन्द्र छन् । हाल सहकारीमा ११ जना कर्मचारी पनि कार्यरत छन् । ८ जना केन्द्रीय कार्यालयमा र अन्य ३ जना सेवा केन्द्रमा कार्यरत रहेको उनले बताए ।
अध्यक्ष बुढाथोकीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सहकारी रजिष्ट्रार भिमप्रसाद तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि तिवारीले आबश्यकताका आधारमा स्थानीयले चलाएका सहकारीहरुमा समस्या नभएपनि बाहिरबाट आएका सहकारीहरु अहिले बन्द हुने अबस्थामा रहेको बताए । बाहिरबाट आएका सहकारीहरुको उद्देश्य नै पैसा कमाउने हुने भन्दै त्यस्ता सहकारीहरु केही समयकालागि मात्रै हुने उनको भनाई छ ।
त्यस्तै उनले सहकारीकर्मीहरु उद्यममा जोडिनु पर्ने बताए ।उनले सहकारी संस्थाहरुले योजनाबद्ध तरिकाले उत्पादनमा जान सकेमा मात्र सहकारी सस्था दिगो हुने बताए ।
कार्यक्रममा संविधान सभा सदस्य अनारकली मियाँ,लुम्बिनी प्रदेश सहकारी सघंका सचिव रुपबहादुर खत्री,तुलसीपुर उपमहानगरपालिकाका पुर्व मेयर ढुण्डिराज लामिछाने,संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहाकार सुरेन्द्रबहादुर खड्का,जिल्ला सहकारी सघंका सचिव शुक्रराज भण्डारी, बबई गाँउपालिकाका अध्यक्ष कुलबहादुर खत्री,महिला सशक्तीकरण एवं समाज विकास नेपाल अध्यक्ष दिपा कुमारी केसी लगाएतले सहकारीलाई अगाडी बढाउन एकजना ब्यक्तिको मात्र नभएर सबै सदस्यहरुको उत्तिकै भूमिका रहने भन्दै सबै सदस्यहरु मिलेर अगाडी बढ्न आग्रह गरेका छन् ।
स्थापना दिवस एवं रजत जयन्तीका अवसरमा संस्थाले जेष्ठ सेयर सदस्यहरु,विभिन्न सघंसस्थाका प्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
संस्थाका उपाध्यक्ष रन्जन कुमार गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिब हेमराज गौतमले गरेका थिए ।
लाइभदाङ । १५ चैत्र २०७९, बुधबार १९:३८ बजे