पौष्टिक आहार छनोट तथा स्वास्थ पाक विधि प्रदर्शनी कार्यक्रम अर्नाहनपुरमा सम्पन्न

तुल बहादुर कवँर मगर
देउखुरी, ७ भदौ ।
पौष्टिक आहार छनौट तथा स्वास्थ पाक विधि प्रर्दशनी कार्यक्रम शुक्रबार राप्ती गाउँपालिका वडा नं.७ अर्नाहनपुरमा सम्पन्न भएको छ।

मेलमिलाप कृषक समुहको आयोजना एवम् नामसालिङ सामुदायिक विकास केन्द्रको सहयोग र राप्ती गाउँपालिका दाङको समन्वयमा उक्त कार्यक्रममा सम्पन्न भएको हो।

समुहकी अध्यक्ष सावित्रा चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा र नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयोजक धर्म यादवको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वास्थ जीवनशैलीको आधार नै पौष्टिक आहार भएको बताउँदै यस्ता कार्यक्रमले गाउँबस्तीमा जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।


त्यस्तै उहाँले पौष्टिक आहारको छनोट र स्वस्थ खाना पकाउने विधिबारे जानकारी दिन यस प्रकारका प्रदर्शनीहरू आवश्यक रहेको उल्लेख गर्नुभयो। अधिकांश रोगहरु खानपिन बाटै लाग्ने बताउदै अध्यक्ष विष्टले सबैभन्दा पहिले भान्सा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयोजक धर्म यादवले पोषण, पौष्टिक आहार तथा पाक विधिको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा अर्नाहनपुर टोल विकास संस्थाका अध्यक्ष सनातन चौधरी, समाजसेवि भिमलाल चौधरी, स्वास्थ्य स्वयंसेवीका लक्ष्मी चौधरी , पत्रकार ओमप्रकाश गुप्ता लगाएतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समुहककी सचिव सुलोचना चौधरीले सञ्चालन गर्नु भएको कार्यक्रमको व्यवस्थापन नामसालिङ सामुदायिक विकास केन्द्रकी कृषि प्राविधिक धनकुमारी चौधरी र समाजिक परिचालिका पुस्तमा पुनले गर्नुभएको थियो ।