घोराही–तुलसीपुर सडकको सेवार खोलामा पुल निर्माण सुरु भएपछि …

अन्जना बिश्वकर्मा
तुलसीपुर,११ असार ।
दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवार खोलामा पुल निर्माण शुरु भएपछि यात्रुहरु खुसी भएका छन् । घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा चार लेनको पक्की पुल निर्माणको काम हाल जारी छ । सोही खोलामा पुल नहुँदा बर्षादमा आवतजावतमा निकै समस्या हुने गरेको थियो । बर्षादको समयमा बाढी आउँदा आवतजावतमा समस्या हुने गरेको भन्दै अब सहज हुने तुलसीपुर निवासी रामचन्द्र केसीले बताए । “बर्षादमा भेल आउँदा वारपार गर्न समेत समस्या हुने गरेको थियो”,उनले भने “अब भने पुल निर्माण भएपछि सहज हुनेछ ।”

एक महिना अघिदेखि सोही खोलामा पुल निर्माण कार्य जारी छ । तीन वर्षभित्रमा पुल निर्माणको काम सक्ने गरी निर्माण सुरु भएको पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर उपेन्द्र दासले जानकारी दिए । उनका अनुसार २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माणको काम सक्ने गरी २०८० साल वैशाख ३० गते रायमाझी निर्माण सेवा प्रालि काठमाडौँसँग सम्झौता भएको हो ।

सो सम्झौता अनुसार निर्माण कम्पनीले पुल डिजाइनको काम सकेर पूर्वाधार निर्माणको काम सुरु गरेको छ । उनका अनुसार पुल चार लेनमा ७० मिटर लम्बाइ र २०.५ मिटर चौडाइको हुनेछ । सेवार खोलामा पुल नहुँदा सवारी आवागमनमा समस्या हुने गरेको थियो । खोलामा पुल नहुँदा बर्षातको समयमा घण्टौं कुर्नुपर्ने अवस्था थियो ।


घोराही–तुलसीपुर सडक खण्डको अधिकांश खोलामा पुल बनिसकेका छन् । अब भने सेवार खोला र हापुर खोलमा पुल निर्माण गर्न बाँकी छ । सेवार खोलामा पुल निर्माण भइरहेकाले अब भने हापुर खोलामा पुल निर्माणकालागि प्रक्रिया अगाडी बढाउनुपर्ने यात्रुहरूको माग छ ।

यस अघि तुलसीपुर–लमही सडक खण्ड अन्तर्गत कटुवा खोला, सेवार खोला, बबई खोला, गुर्जे खोला, सिस्ने खोला, पत्रे खोला, कालाखोला, ग्वारखोला, सक्राम खोलामा पुल निर्माण भइसकेका छन् । यस अघि सडकबीचका कुनै पनि खोलामा पुल नहुँदा आवतजावतमा निकै समस्या हुने गरेको थियो । साभारः अग्रिम साप्ताहिक