देउखुरी, ६ भदौ । लुम्बिनी प्रदेश सभा चौथो अधिवेशनको २७ औं बैठक आज दिउँसो २ बजे बस्दैछ । बैठकबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यो प्रस्तावलाई निर्णायार्थ पेस गर्ने तयारी छ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयकमाथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ । संसदमा छलफलपछि विधेयकलाई पास गरिनेछ ।
लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार मुख्यमन्त्री आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले आचार्यले दिने कार्यसूची रहेको छ ।
अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले औद्योगिक व्यवसायसम्बन्धी प्रचलित प्रदेश कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रतिवेदनसहितको विधेयक सभामा पेस गर्ने कार्यसूची रहेको सचिव पुनले बताए ।
लाइभदाङ । ६ भाद्र २०८१, बिहीबार १०:५३ बजे