राप्तीका शिक्षक तथा विद्यालय नर्सहरुलाई आधारभूत आँखा उपचार तालिम प्रदान

तुल बहादुर कवँर मगर
देउखुरी, २४ भदौ ।

राप्ती गाउँपालिका दाङका शिक्षक तथा विद्यालय नर्सहरुलाई एक दिने आधारभूत आँखा उपचार तालिम प्रदान गरिएको छ । तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँको आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वय र फ्रेड हलोज फाउन्डेसनको सहयोगमा स्वास्थ्य चौकी सिसहनियाँको हलमा तालिम प्रदान गरिएको हो ।

तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आँखा बिना संसार नै अन्धकार हुन भन्दै त्यसको सरसफाइ तथा उपचारमा विशेष ख्याल पर्ने बताउनुभयो। उहाँले भन्नू भयो ‘आँखा अति सम्वेदनसील अंग हो।यसको विशेष ख्याल गर्नु पर्छ ।’

यस प्रकारको तालिम पालिकामै पहिलो भएको भन्दै अध्यक्ष विष्टले आँखाको आधारभूत उपचार जस्तो तालिम आफैमा महत्त्वपूर्ण भएको बताउनुभयो ।


त्यस्तै उहाँले राप्ती गाउँपालिका र हलोज फाउन्डेसनको सहयोगमा आँखा कम्जोर भएका विद्यार्थीहरुलाई अधिकतम १ हजार रुपैयाँ सम्मको चस्मा निस्शुल्क उपलब्ध गराउने समेत जानकारी दिनु भयो ।

आँखा उपचार केन्द्र सिसहनियाँका ईन्चार्ज बिमल बिसीका अनुसार पालिकाको वडा नं.१ देखि ७ सम्मका सामुदायिक विद्यालयका शिक्षकहरुलाई भदौ २२ गते र वडा नं.८ र ९ का सामुदायिक विद्यालय र ९ वटै वडाका संस्थागत विद्यालयहरुका शिक्षकहरूलाई २३ गते तालिम प्रदान गरिएको हो।

तालिममा आँखामा हुने समस्या, आँखाको हेरचाह, समस्या भए गरिने घरेलु उपचार लगायतको विषयमा जानकारी गराइएको इन्चार्ज बिसीले बताउनुभयो ।गाउँपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयका ४५ जना शिक्षकहरुको सहभागीता रहेको तालिमको प्रशिक्षकमा कार्यक्रम संयोजक हस्त बहादुर राई,संजीव महत,राजेन्द्र सिंह धामी र विमल बिसी रहनु भएको थियो ।