दाङमा रोकिराखेको ट्याक्टरमा ठोक्किदा एक जनाको मृत्यु

दाङ, १ भदौ । दाङमा रोकिराखेको ट्याक्टरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दंगिशरण गाउँपालिका-५ डाँडाचिसमा रोकिराखेको लुम्बिनी प्रदेश ०२-००१ प ०९४६ नम्बरको ट्याक्टरसंग गएराती १० बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ त १४२२ नम्बरको मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक दंगीशरण गाउँपालिका वडा नम्बर ५ का २५ वर्षिय सम्राट गिरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका गिरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । मोटरसाइकल, ट्याक्टर र ट्याक्टर चालक बबई गाउँपालिका ७ का २९ वर्षिय इन्द्र बहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यस्तै घोराहीमा टिप्परको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका वडा नम्बर १५ दिपज्योति चोकका २८ वर्षिय शक्तिसिं जिसी गम्भिर घाइते हुनुभएको हो ।

घाइते जिसीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज नेपालगञ्ज रिफर गरिएको छ । गएराती सवा १० बजेतिर घोराही सिमेन्टबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २२५४ नम्बरको टिप्परले घोराही-१५ दिपज्योति हस्पिटल नजिकै विपरित दिशाबाट गइरहेको रा १ ब ८८५ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो । टिप्पर र टिप्पर चालक घोराही-१५ भरतपुरका २४ वर्षिय प्रविन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता तिमल्सिनाले जानकारी दिनुभयो ।