सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

काठमाडौं,३० साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ । गएको असार १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० गते कांग्रेस–एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लाग्नुभएको हो ।


५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । सत्तारूढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा पनि शाहको विश्वासको मत पुग्छ । नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने जनाएको छ । सुदूरपश्चिम प्रदेश सभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।