विद्यार्थीलाई स्वस्थ राख्न शिक्षकलाई अभिमुखिकरण

दाङ, ९ असार । विद्यार्थीहरुलाई स्वस्थ राख्नकालागि दाङका तुलसीपुरमा शिक्षकहरुलाई अभिमुखिकरण प्रदान गरिएको छ ।

शिक्षकहरुले भनेको कुरा विद्यार्थीहरुले सहजै स्वीकार गर्ने भएकाले शिक्षकहरु मार्फत विद्यार्थीहरुलाई स्वस्थ खानपानी, आनीवानी सुधार गर्नकालागि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सोमबार यस्तो अभिमुखिकरण प्रदान गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाको आयोजनामा उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा स्वास्थ्य शिक्षकहरुलाई अभिमुखिकरण प्रदान गरिएको उपमहानगरपालिकाका बरिष्ठ कबिराज निरीक्षक रजनी रोकायले बताईन् । उनका अनुसार विद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षा र स्वस्थकर जीवन शैली सम्बन्धि अभिमुखिकरण प्रदान गरिएको हो ।


त्यस राप्ती प्रादेशिक आयुर्वेद औषधालयका प्रमुख डा.मदन वीसीले घरमै बनेका अर्गानिक खानेकुरा तर्फ विद्यार्थीहरुलाई आकर्षित गर्न शिक्षकहरुले भूमिका खेल्नु पर्ने बताए । उनले घरमै बनेका खानपानहरु आयुर्वेद औषधीजन्य गुण भएका खानेकुरा भएकाले पनि यस्तो कुरामा शिक्षकहरुले विद्यार्थीहरुलाई सचेत बनाउनुपर्ने बताए । पछिल्लो समय विद्यार्थीहरुमा‘अस्वस्थकर खाना’ खाने प्रबृति बढेको भन्दै यसले स्वास्थ्यमा निकै असर गर्ने समेत उनको भनाई थियो ।

विद्यार्थीहरुलाई नसर्ने र कुपोषण रोगबाट जोगाउनकालागि यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।