मेट्रो कलेज मुटकोर्ट क्याम्प

तुलसीपुर  । तुलसीपुर मेट्रो कलेजले मुट कोर्ट अभ्यास अदालत सम्बन्धि साताव्यापी आवासिय क्याम्प सञ्चालन गरेको छ ।

कानून संकायमा अध्ययनरत विद्यार्थीहरुलाई आन्तरिक प्रतिष्पर्धा गराएर छानिएका २२  विद्यार्थीहरुलाई ७ दिनसम्म आवासिय रुपमा क्याम्प सञ्चालन गरिएको थियो । उक्त क्याम्पमा राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय प्रशिक्षकहरुबाट प्रशिक्षण दिइएको कार्यक्रम संयोजक विजय पोख्रेलले जानकारी गराए ।

विद्यार्थीहरुलाई कानूनी बहसमा अभ्यस्त गराउनका लागि कार्यक्रमको आयोजना गरिएको पनि संयोजक पोख्रेलले जानकारी दिए ।

 अभ्यास अदालतसँग सम्बन्धित बहस, कानून मस्यौदा र कानूनी अनुसन्धान लागयतका कुराहरुमा विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रशिक्षक अनुज चन्दले जानकारी गराएका थिए । उनले विभिन्न मुटकोर्ट प्रतियोगितामा सहभागिता जनाउनका लागि आवश्यक पक्षका बारेमा जानकारी गराएका थिए ।


सो अवसरमा प्रशिक्षक चन्दले अन्तर्राष्ट्रिय अदालतको क्षेत्राधिकार,आत्मनिर्णय लगायतका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा अधिवक्ता सुनिल यादवले अदालती मस्यौदा लेखन,थुनछेक सम्बन्धि कानून, बहस नोट लगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा कानून संकाय संयोजक विजय पोख्रेल, उपप्राध्यापक कमल मरासिनी, अधिवक्ता सुष्मा केसी लगायतले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

कानुनी विषयलाई व्याबहारिक ढँगले अध्यापन गराउनका लागि क्याम्पको आयोजना गरिएको कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिए । उनले विभिन्न मुटकोर्ट प्रतियोगितामा सहभागिताका लागि विद्यार्थीहरुलाई क्याम्पसले सहजता प्रदान गरेको समेत बताए ।

कार्यक्रममा नेपालीमा उत्कृष्ट बहस गर्ने पारस वली र अंग्रेजीमा उत्कृष्ट बहस गर्ने शिशिर पौडेललाई पुरस्कृत समेत गरिएको थियो ।