दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

तुलसीपुर, १५ साउन ।  दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ भालुबाङका ५० बर्षिय लोकप्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.००१६ ख २७७९ नम्बरको ट्रकले राप्ती गाउँपालिका–१ भालुबाङ चोकमा फलफूल व्यवसायी गर्दै आएका भट्टाईलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।


मृतकका आफन्तले दोषीलाई कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै केहीबेर पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेपनी अहिले भने खुलाइएको उहाँले बताउनुभयो । मृतकको शवलाई पोष्टमार्टमको लागी लमही अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।