सुत्केरीलाई भाले

तुलसीपुर, १४ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ ले सुत्केरीलाई भाले दिन थालेको छ ।

सोमबारदेखि सुत्केरीलाई भाले वितरण सुरु गरिएको हो । वडाध्यक्ष मानबहादुर रावतले सोमबार दुई जना सुत्केरी आमालाई भाले वितरण गरेर औपचारिक सुरुवात गरेका हुन् ।

हस्नापुर निवासी २१ बर्षीया सुजाता खड्का र बेल्टाकुरा निवासी ३१ बर्षीया लक्ष्मी चौधरीलाई स्थानीय जातको कुखुरा वितरण गरिएको हो ।


आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनकालागि यो कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रावतले बताए ।“आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनकालागि हामीले सन्देश दिन भाले वितरण थालेका हौँ”,उनले भने ।

त्यस्तै गर्भवति हुँदा नियमित ८ पटक स्वास्थ्य जाँच गराउनुपर्ने, अस्पतालमै बच्चा जन्माउनु पर्ने, आमाको उमेर २० बर्ष पुगेको हुनुपर्ने सन्देश दिन पनि यो कार्यक्रम सुरुवात गरिएको वडाध्यक्ष रावतको भनाई छ ।

यी कार्य नगरेमा यो सुविधा उपलब्ध नहुँने उनले बताए । त्यसकालागि वडाले एक लाख ५० हजार रुपैँया बजेट बिनियोजन गरेको छ ।