जब असार लाग्छ, त्यसपछि विरुवा रोप्ने चटारो हुन्छ । विभिन्न सामाजिक संघसंस्था होस्, वा ब्यक्तीहरुले विरुवा रोप्छन् । यो अहिलेको अपरिहार्य पनि हो । जलवायु परिवर्तन भइरहेको अवस्थालाई अनुकूल बनाउनकालागि रुख रोप्नु अनिवार्य छ । रुख रोपे मात्रै पनि जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न सकिन्छ । असारदेखि सुरु भएको रुख रोप्ने प्रचलन भदौसम्म चल्छ । यसरी रुख रोप्दा बाँझो जग्गा हराभरा हनुपर्छ । उजाड ठाउँहरु हरियाली हुनुपर्छ । अनि मात्रै त्यसले सार्थकता दिन्छ । बर्षेनी यसरी रुख रोपिन्छ । तर, ति रुखहरु उम्रिएका छन्, की छैनन्, त्यो भने हेरचाह हुने गरेको छैन । यतिसम्म की पोहोर जुन ठाउँमा रुख रोपिएको थियो, त्यही ठाउँमा पुनः रुख रोपिन्छ, आगामी बर्ष पनि पुनः त्यही ठाउँमा रुख रोपिएला । यस्तो खालको रुख रोप्ने कार्यले भने कति सार्थकता देला, यो प्रश्न अहिले खडा भएको छ ।
बर्षेनी रुख रोप्ने तर, त्यसलाई संरक्षण गर्न कसैले पनि चासो दिएको देखिदैन । एउटा लहरका रुपमा रुख रोप्ने कार्य अघि बढेको देखिन्छ । जसरी रुख रोप्ने र फेसबुकमा फोटो पोष्ट्याउने गरिन्छ, त्यसरी नै हुर्किरहेको फोटो पोष्ट गर्ने प्रचलनको सुरुवात नभएसम्म रुख रोप्ने मात्रै, त्यसको उपलब्धी न्यून हुन सक्छ । यस तर्फ पनि ध्यान दिनुपर्छ ।
हामीले वर्षमा कति रुख रोप्यौं, भन्ने कुराले मात्रै त्यति अर्थ राख्दैन् । तर, हामीले रोपेका रुख मध्ये कति रुख जोगाउन सक्यौं, भन्ने कुरा अहिलेको महत्वपूर्ण विषय हो । रुख रोप्न जसरी अभियान चल्छ, त्यसरी नै रोपेका रुखहरु जोगाउने अभियान चलाउनु अहिलेको आबश्यकता हो । कम्तिमा महिनामा एक पटक हामीले रोपेका विरुवाको हेरचाह गर्न समय छुट्याउनु पर्छ । अनि मात्रै हामीले रोपेको रुखले हेरचाह पाउछ । अन्यथा हामी रुख रोप्ने मात्रै, उपलब्धी न्यून हुन सक्छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ९ श्रावण २०८१, बुधबार ०८:१३ बजे