तुलसीपुरमा विरोधका श्वर

केही दिन अघि तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ मा भएको एक कार्यक्रममा नगर प्रमुख टिकाराम खड्का कै अघि उपप्रमुख स्यानी चौधरीले असन्तुष्टिका कुरा राखिन । शिक्षक सरूवामा उनको असन्तुष्टि थियो । सार्वजनिक कार्यक्रममा यसरी असन्तुष्टि पोखिन थालेका छन् । तुलसीपुरका फोहर व्यवस्थापनका विषयमा पनि त्यतिकै असन्तुष्टिहरू छन् । उपप्रमुखले तुलसीपुरमा कुहिने फोहरबाट मल बनाउने र फालेका सिसाबाट इट्टा बनाउने योजना बनाएकी छन् । तर, त्यो योजनामा नगरप्रमुखसहित केही कार्यपालिका सदस्यले सकारात्मक सहयोग नगर्दा त्यो काम अगाडी बढ्न सकेको छैन ।

तुलसीपुरको फोहर व्यवस्थापन गर्न सकेमा तुलसीपुरमा आम्दानी पनि बढ्छ र, तुलसीपुरको फोहर व्यवस्थापन पनि उचित ढंगबाट अघि बढ्छ । अहिले तुलसीपुरको फोहर अस्तब्यस्त छ । जहा पायो त्यही फोहर छ । सबैका घरको पछाडी फोहर छ । उचित डम्पिङ पनि छैन । महेन्द्र स्कुलको पछाडी अस्थायी डम्पिङ मात्रै छ । त्यो बाहेक फोहरको दीर्घकालिन व्यवस्थापन नभएको अवस्थामा उपप्रमुख चौधरीले तुलसीपुरको फोहरलाई उचित व्यवस्थापन गर्न खोज्दा पनि सहयोग नगर्नुले शंका उत्पन्न भएको छ ।


फोहर व्यवस्थापन स्थानीय सरकारको दायित्व भित्र पर्छ । तर, स्थानीय सरकारले दिर्घकालिन फोहर व्यवस्थापनमा चासो दिन नसक्नु दुःखद कुरा हो । धेरै स्थानीय तहले फोहरलाई मोहर बनाईसके । तर, तुलसीपुर उपमहानगरपालिकाले फोहर व्यवस्थापनमा चासो दिन सकिरहेको अवस्था छैन । सरकारी स्तरबाट नसकिने अवस्थामा निजि क्षेत्रलाई त्यसको जिम्मा दिन सकिन्छ । स्थानीय तह बलियो हुने गरि निजि क्षेत्रलाई सम्झौता गर्ने र सोही अनुसार फोहर मैला व्यवस्थापनको जिम्मा दिन सकेमा फोहरलाई मोहर पनि बनाउन सकिन्छ ।

यो भन्दा अघिल्लो कार्र्यकालमा नै कार्यपालिकाको बैठकले फोहर व्यवस्थापनकालागि निजि क्षेत्रलाई दिने निर्णय गरिसकेको छ । त्यसमा छलफल पश्चात उचित निकास निकाल्न सक्नु पर्छ । निजि क्षेत्रले तुलसीपुरको फोहर व्यवस्थापन गर्न र फोहरलाई मोहरमा बदल्नकालागि योजना पनि प्रस्तुत गरिरहेको अवस्था छ । तर, त्यसमा उपमहानगरपालिका अनिर्णित हुनु, दुःखद कुरा हो । एउटा स्थानीय सरकारले हरेक विषयमा उचित निर्णय दिन नसक्नु,उनको निर्णायक क्षमतामाथिको प्रश्न पनि हो । साभारः अग्रिम साप्ताहिक