सामुदायिक विद्यालयको नतिजा शून्य !

दीपक बोहरा
दाङ, ९ साउन ।
दाङको राजपुर गाउँपालिकाका ७, बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाका २/२ तथा राप्ती गाउँपालिकाका एउटा विद्यालयले एसईईमा शून्य नतिजा ल्याएको छ । दाङमा जम्मा १२ हजार पाँच सय ५९ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ६ हजार ५६ विद्यार्थी उतिर्ण भएका छन् । जिल्लामा सबैभन्दा बढी ९९.६ प्रतिशत अनुतीर्ण भएका विद्यार्थी राजपुर गाउँपालिकाका छन् भने बंगलाचुली गाउँपालिकाका पनि ९५.४ प्रतिशत विद्यार्थी फेल भएका छन् ।

दाङको राजपुर गाउँपालिकाबाट एसईई परीक्षामा एक जना मात्रै उतिर्ण भए । पालिकाभित्र ८ वटा सामुदायिक विद्यालयका दुई सय ५५ जनाले परीक्षा दिएका थिए । तर, नमूना माध्यामिक विद्यालय गंगदीबाट गेहेन्द्र यादव मात्रै उतिर्ण भएका हुन् । उनले ‘वि प्लस’ ग्रेड ल्याए । त्यो विद्यालयबाट ८५ जनाले परीक्षा दिएका थिए । त्योबाहेक अन्य ७ वटा विद्यालयले एक जना पनि विद्यार्थी पास गराउन सकेनन् ।

राजपुर गाउँपालिकाकै जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६ जना, शंकर माध्यमिक विद्यालय खरदरियाबाट ४५ जना, माध्यमिक विद्यालय दुलैयाबाट ९ जना, बाल कल्याण माध्यमिक विद्यालय खंग्रानाकाबाट १० जनाले एसइईको परीक्षा दिएका थिए ।

त्यस्तै माध्यमिक विद्यालय सिक्टाबाट ३० जना, गौरीशंकर मावि भैसाहीनाकाबाट ९ जना, शिवशक्ति माध्यमिक विद्यालय भौवानाकाबाट ६ जनाले एसइइ दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ । शिक्षामा लगानी गरेपनि त्यसअनुसारको नतिजा नआउँदा आफूहरू दुःखी भएको पालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए । “भवन ठूला–ठूला छन्, हामीले बर्षेनी ५ करोड शिक्षा क्षेत्रमै छुट्याउने गरेका छौं”, बुढाथोकीले भने, “तर, त्यसअनुसारको उपलब्धी नहुँदा सोच्नैपर्ने बेला आएको छ ।”

बुढाथोकीका अनुसार विद्यार्थीहरूलाई ३/३ महिना ट्युसन समेत पढाएको, शिक्षक नभएको ठाउँमा स्वयंसेवक शिक्षक समेत खटाएको पनि उनले बताए । नमूना भनिएकै जनज्योति माविमा शून्य नतिजा आउँनु राम्रो कुरा नभएको उनले बताए । यसमा अभिभावकले पनि चासो दिनुपर्ने, विद्यार्थीहरू पनि लगनशिल हुनुपर्ने र शिक्षकहरू जिम्मेवार बनेमा सुधार हुन सक्ने उनको भनाइ छ । “हामी पनि यो नतिजाप्रति लज्जित छौं”, उनले भने, “आगामी दिनमा सिकाईको पालिकाबाट नियमित अनुगमन गर्ने योजना बनाएका छौं ।”

त्यस्तै दाङको बंगलाचुली गाउँपालिकाले पनि शिक्षा क्षेत्रमा १८ करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर, छुट्याएको बजेटअनुसार नतिजा आउँन नसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओमप्रकाश केसीले बताए । उनका अनुसार शिक्षकको तलब भत्ता र शैक्षिक कार्यक्रममै उक्त खर्च भएको हो । लमही नगरपालिकाले पनि गएको वर्ष १८ करोड बजेट विनियोजन गरेको थियो । शाखा प्रमुख भवानी गिरीले पनि शिक्षामा गरिएको त्यो लगानी अनुसार उपलब्धी हाँसिल गर्न नसिकएको बताईन् ।

दाङका अन्य पालिकाहरूका केही विद्यालयले पनि शून्य नतिजा ल्याएका छन् । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाका २/२ तथा राप्ती गाउँपालिकाका एउटा विद्यालयले शून्य नतिजा ल्याएको छ । दाङमा जम्मा १२ हजार पाँच सय ५९ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ६ हजार ५६ विद्यार्थी उतिर्ण भएका छन् । जिल्लामा सबैभन्दा बढी ९९।६ प्रतिशत अनुतीर्ण भएका विद्यार्थी राजपुर गाउँपालिकाका छन् भने ९५।४ प्रतिशत विद्यार्थी बंगलाचुली गाउँपालिकाका फेल भएका छन् । सबैभन्दा बढि तुलसीपुर उपमहानगरपालिकाले ७६।६ प्रतिशत विद्यार्थी उर्तीण गराउन सफल भएको छ ।


प्यूठानको अवस्था पनि त्यस्तै
दाङमा मात्रै होईन, लुम्बिनी प्रदेश अन्तर्गत प्यूठान जिल्लाको अवस्था पनि त्यस्तै छ । प्यूठानको ऐरावती गाउँपालिकाबाट पनि एकजना मात्रै विद्यार्थी उर्तीण भए । ३ सय १९ जना विद्यार्थीले एसईई दिएकोमध्ये वडा नम्बर १ स्थित धर्मोदय मावि पकला जावुनेका उमेश केसी उतीर्ण भएका हुन् । त्यस पालिकाका सातवटा विद्यालयमध्ये ६ वटा पालिकाले शून्य नतिजा ल्याए । जनता मावि बिजुली, महेन्द्र मावि सरङवेसी, दाङवाङ मावि दाङवाङ, मोती मावि बरौला, मद्यमोदय मावि धुवाङ र जनकल्याण मावि ऐरावतीले शून्य नतिजा ल्याए ।

गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख यसप्रसाद पाण्डेले यस विषयमा आफूहरूले गम्भीर समीक्षा गर्ने तयारी गरेको बताए । उनका अनुसार पालिकाले आफ्नै स्रोतबाट राखेका ५८ जना शिक्षकहरूलाई तलब खुवाउँदा वार्षिक साढे दुई करोड बढि खर्च हुने गरेको छ । उनले धेरैजसो विद्यार्थीहरूलाई विज्ञान विषय लागेको जानकारी दिए ।

रुपन्देहीका ११ विद्यालय शून्य
प्रदेशको उत्कृष्ट शैक्षिक क्षेत्रका रूपमा रहेको रुपन्देही जिल्लाकै ११ विद्यालयले शून्य नतिजा ल्याएका छन् ।रुपन्देहीलाई शैक्षिक क्षेत्रमा मोफसलको उत्कृष्ट सहरका रूपमा चिनिन्छ । तर, यस जिल्लाको ११ वटा विद्यालयको नतिजा शून्य भएको शिक्षा विकास तथा समन्वय एकाइ रुपन्देहीका शाखा अधिकृत विष्णु बेल्वासेले जानकारी दिए ।

नमुना विद्यालयको रूपमा देशभरि नै कहलिएको बुटवलको कालिका मानविज्ञान माविकै नतिजा समेत खस्किएको छ । जहाँबाट ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य छ । ६ सय ७५ विद्यार्थीले परीक्षा दिएकोमा ७१ जना विद्यार्थी अनुतिर्ण रहेका छन् । सोही विद्यालयबाट सबैभन्दा बढी ३.९६ ल्याउने विद्यार्थी संख्या ६ जना छन् । जिपिए ३.४ देखि ३.६ ल्याउने विद्यार्थी संख्या ६६, जिपिए ३.२ देखि ३.४ सम्म ल्याउने विद्यार्थी २१२ जना, जिपिए २.८ देखि ३.२ ल्याउने विद्यार्थी १३८ जना छन् ।


विद्यालयका प्रधानाध्यापक दिनेश थापाले भने यो नतिजालाई सन्तोषजनक भएको दावी गरे । “देशभरकै नतिजा खस्किएको अवस्थामा छ”, उनले भने, “त्यो तुलनामा हामीले ल्याएको नतिजा सन्तोषजनक छ ।”

बर्दियामा सात विद्यालयको नतिजा शून्य
बर्दियामा सातवटा विद्यालयको एसइई नतिजा शून्य छ । बाँसगढी नगरपालिकाको जनता मावि बेलवा, लक्ष्मी मावि, जनता मावि बठुवा, पृथ्वी माविको नतिजा शून्य छ । त्यस्तै, बढैयाताल गाउँपालिकाको जगदम्बिका मावि, बारबर्दिया नगरपालिकाको अमर सहिद दशरथ चन्द मावि र गेरुवा गाउँपालिकाको नेपाल राष्ट्रिय गणेश माविको नतिजा शून्य छ । जनता मावि बेलवामा ११२, नेपाल राष्ट्रिय गणेश माविमा १०९, लक्ष्मी माविमा ८२, जनता मावि बठुवाबाट ५३, अमर सहिद दशरथ चन्द माविबाट ४७ जनाले एसईई दिएका थिए । त्यस्तै जगदम्बिका मावि शान्तिपुरबाट २१ जना तथा पृथ्वी मावि लखनाबाट ३४ जनाले एसईई परीक्षा दिएका थिए ।

लुम्बिनीमै खस्कियो नतिजा
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार लुम्बिनीमा बढी अनुतिर्ण भएका छन् । परीक्षामा सहभागीमध्ये ४९ हजार २ सय २४ जना विद्यार्थी ‘एनजी’ भएका हन् । लुम्बिनीबाट ८० हजार ३ सय २७ विद्यार्थी परीक्षामा सहभागि थिए । लुम्बिनीमा केही विद्यार्थी कम उतिर्ण भएपनि देशभरकै नतिजा खस्किएको शिक्षाविज्ञ विष्णुप्रसाद आचार्यले बताए । मुलुकको नीति, अस्थिरताजस्ता कुराले पनि शिक्षामा असर गरिरहेको उनको भनाई छ । ‘विगतमा अनुगमनको पाटो पनि सशक्त थियो, परीक्षा प्रणाली पनि राम्रो थियो’,उनले भने, ‘त्यसले गर्दा शिक्षक र विद्यार्थीमा जोस जाँगर थियो तर अहिले पठन सस्कृति हराईरहेकाले पनि यो नतिजा आएको हो ।’

शिक्षकहरूले अनिवार्य १५ प्रतिशत विद्यार्थी उतिर्ण गराउनुपर्ने विगतको नीतिगत अभ्यास नै प्रभावकारी रहेको उनको भनाई थियो । त्यस्तै अहिले परीक्षा हलमा मोबाइल लगे पास भइन्छ, भन्ने विद्यार्थीमा मनोविज्ञान तयार भएकाले पनि यस्तो समस्या निम्तिएको हुन सक्ने उनको भनाई छ ।

समस्या कहाँ हो ?
विषय शिक्षक नहुँदा समस्या
विषय शिक्षकहरू नहुँदा विकट क्षेत्रका विद्यालयहरूमा यस्तो समस्या बढी देखिएको राप्ती गाउँपालिका ९ स्थित मावि रुपाकोटका प्रधानाध्यापक लक्ष्मण बुढाथोकीले बताए । ‘हाम्रोमा ८÷९ महिनादेखि गणितको विषय शिक्षक हुनुहुन्न”,उनले भने, “उहाँको ठाउँमा आविको शिक्षकले पढाउनुपर्ने अवस्था छ, त्यसले गर्दा पनि नतिजा शून्य आएको हाम्रो समीक्षा छ ।”

अभिभावकको चासो
अभिभावकहरूले पनि विद्यालयको पढाईप्रति चासो नदिने खालका कुराले नतिजा विग्रिने गरेको बंगलाचुली गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओमप्रकाश केसीले बताए । आफ्ना बालबालिकाको पढाईको अवस्था के छ रु, कसरी पढिरहेका छन्रु, शिक्षकहरूले कसरी पढाईरहेका छन् भन्ने कुराको मात्रै पनि चासो दिन सके धेरै सुधार हुने उनको भनाई छ ।

विद्यार्थीमा पनि रुचि
विद्यार्थीहरूले पनि पढाईप्रति रुची राख्नुपर्छ । विद्यार्थीहरूकै लागि अतिरिक्त कक्षाहरू पनि लिने गरेको भएपनि त्यसअनुसार विद्यार्थीले ध्यान नदिएको रुपाकोट माविका प्रअ बुढाथोकीले बताए । आर्थिक अवस्था कमजोर, शिक्षाको महत्व बुझाईमा कमी, एसईई पास गरेर विदेश जानुपर्ने मनोविज्ञान बोकेकै कारण पनि यसरी नतिजा खस्किएको उनको तर्क छ ।

अर्कोतर्फ कोभिडताका विद्यार्थीहरूले अहिले एसईई दिएकाले पनि नतिजा खस्किएको उनले बताए । “अहिलेको ब्याच भनेको कोभिडताकाको ब्याच हो, विगतभन्दा कमजोर ब्याच थियो”,उनले भने, “त्यसले गर्दा पनि नतिजा शून्य भएको हो ।” ब्याच नै कमजोर हुनु र प्रस्तावित मावि भएकाले लमहीमा पनि नतिजा कमजोर आएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख भवानी गिरीले बताईन् ।

शिक्षक अपूर्णता
शिक्षक अभावमा पनि यसरी नतिजा खस्किने गरेको छ । रुपाकोट माविमै पटक–पटक शिक्षकका लागि आवेदन आह्वान भए । तर, त्यहाँ आवेदन पनि नपर्ने समस्या छ जसले गर्दा आधारभूत विद्यालयका शिक्षकले मावि कक्षा पढाउनुपर्ने अवस्था छ । त्यति मात्रै होइन, विकटका विद्यालयहरूमा शिक्षक जान समेत नमान्ने गरेको उनको भनाई छ । यदि त्यहाँ शिक्षकहरू गएपनि लामो समय बस्न नसक्ने समस्या रहेको राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले बताए । यो कुरालाई बंगलाचुली गाउँपालिकाका शिक्षा शाखा प्रमुख ओमप्रकाश केसीले पनि स्वीकार गरे ।

विकट क्षेत्रमा अभिभावक र विद्यार्थीको चेतनास्तर पनि त्यही प्रकारको हुने र शिक्षक पनि उपलब्ध नहुँने जस्ता समस्याले नतिजा खस्किने गरेको छ । लमहीस्थित मावि अमिलियामा पनि शिक्षक अभावकै कारण नतिजा खस्किएको शाखा प्रमुख भवानी गिरीको तर्क छ । प्रस्तावित हुँदा केन्द्रले पनि जनशक्ति नदिने र नगरपालिकाले पनि जनशक्ति दिन नसक्ने अवस्था हुँदा आधारभूत विद्यालयको जनशक्तिले मावि चलाईरहेको उनले बताईन् । त्यसले गर्दा पनि नतिजा खस्किने अवस्था रहेको उनको भनाई छ । “विषयगत शिक्षक पनि हुनुहुन्न, हाम्रो नियमित अनुगमन पनि हुन सकेन”,उनले भनिन्, “त्यसले गर्दा पनि नतिजा खस्किएको हाम्रो अनुमान छ ।” साभारः अग्रिम सापताहिक