भागबन्डा गर्ने थलो‘विश्वविद्यालय’

संस्कृत शिक्षाको उन्नयन र संरक्षणकालागि स्थापित नेपाल संस्कृत विश्वविद्यालय त्यो उद्देश्य अनुरुप अघि बढ्न सकेको छैन । संसारकै संस्कृति शिक्षाको अध्ययन र अनुसन्धानकालागि त्यसले भूमिका खेल्नु पर्ने थियो । दाङको मात्रै नभई नेपालकै गौरबका रुपमा रहेको उक्त विश्वविद्यालय अहिले राजनीतिक गर्ने थलो बनेको छ । आफ्नो मान्छेलाई जागिर खुवाउने र आफ्नो स्वार्थअनुरुप चलाउने होडबाजी नै चल्छ । त्यसलाई एउटा निजि कम्पनी भन्दापनि अन्याय हुँदैन । जहाँ एकाघरका परिवारको जागिर खाने राम्रो‘प्लेटफर्म’ बनेको छ । यदि आफ्नो मान्छेले जागिर पाएन भने ताला लगाउने, आफू अनुकूल भएन भने तालालगाउने एउटा राम्रो थलो बनेको छ । विश्वविद्यालयमा बर्षमा करिब–करिब ६/७ महिना तालाबन्दी लगाउँदैमा वित्छ । राजनीतिक स्वार्थ पूरा भएपछि ताला खुल्छ ।

करोडौं रकम तलब, भत्ता र अन्य सेवा सुविधामा खर्च हुने गरेको विश्वविद्यालयको उपलब्धी भने शून्य छ । त्यहाँ विएएमएसको पढाई केही रुपमा प्रभाबकारी देखिएपनि अन्य कक्षाहरु प्रभाबहिनी जस्तै बनेका छन् । कुनै कुनै कक्षामा त झन एक जना मात्रै विद्यार्थी भएको अबस्था समेत छ । लामो समयदेखि प्राध्यापकहरुलाई ‘विजनेश’ विहीन बनाउने गरेको छ । बास्तुशास्त्रको कक्षा सञ्चालनकालागि पनि प्रभाबकारी भूमिका छैन । त्यसमा पनि खिचातानी छ । आंगिक क्याम्पसहरुको अबस्था पनि त्यस्तै छ । संस्कृतका कक्षाहरु झनै प्रभाबकारी छैनन । विएएमएसको प्रयोगात्मककालागि आफ्नै शिक्षक अस्पताललाई प्रभाबकारी नबनाउँदा प्रयोगात्मककालागि अन्य अस्पताल जानुपर्ने बाध्यता छ । त्यतातिर खासै ध्यान छैन । तर, आन्तरिक राजनीतिक खिचातानी भने चलिरहन्छ । त्यसको एउटा उदाहरण : पछिल्लो समय उपकुलपति प्रा.डा. यादव लामिछाने र कुलसचिब माधव अधिकारीबीचको विवाद हो । उनीहरु एउटै पार्टीमा आस्थावान ब्यक्ती हुन् । तर, पनि उनीहरु दुबैबीचको स्वार्थ बाझिदा त्यसले उग्र रुप लियो । हुँदा–हुँदा उपकुलपतिले कुलसचिबलाई निलम्बन नै गरे । उनको सबै अधिकार आफैले राखे । त्यसपछि एकअर्काबीच आरोपप्रत्यारोप चलिरहेको छ । अधिकार क्षेत्र भन्दा बाहिर गएर काम गरेको, विश्वविद्यालय विरुद्ध बाहिर गलत सूचना दिएको, आर्थिक अपचलन गरेको जस्ता आरोप कुलसचिबलाई लगाइयो भने, कुलसचिबले पनि अस्वभाविक कर्मचारी भर्ती गर्न खोजेपछि त्यसको विरुद्धमा लागेकै कारण आफूलाई हटाएको भनिररहेका छन् । यसले पछिल्लो समय विश्वविद्यालयमा अराजक गतिबिधि बनाईरहेको छ ।


संस्कृत विश्वविद्यालयको दाङको गहना हो । अहिले विश्वविद्यालयको अस्तित्वका विषयमा पनि प्रश्न उठिरहेका छन् । विश्वविद्यालयको औचित्य पुष्टि गर्ने सन्दर्भमा यस्ता गतिबिधिले पटक–पटक प्रश्न चिन्ह उठाउने गरेको छ । यदि जिल्लामा रहेको यस्तो गहनालाई संरक्षण गर्न सकिएनमा भने ठूलो मूल्य चुकाउनु पर्ने अबस्था रहन सक्छ, यस तर्फ ध्यान दिन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक