दाङमा जंगली च्याउ खाँदा दुई जना विरामी

तुलसीपुर, २९ असार । दाङमा जंगली च्याउँ खाँदा दुई जना विरामी परेका छन् ।

शनिबार साँझ ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी ७६ बर्षीया प्रेम कुमारी बस्नेत विरामी परेकी हुन् । उनका ३१ बर्षीय छोरा लालबहादुर बस्नेतले पनि च्याउ खाएको भएपनि उनलाई भने केही भएको छैन ।

विरामी बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ । त्यस्तै शनिबार विहान साढे ५ बजेतिर दाङ तुलसीपुर ४ खाद्रे निवासी ५३ बर्षीया देबेन्द्रा बकरीले आफ्नो घर नजिकैको जंगलबाट ल्याएको च्याउँ खाँदा विरामी परेकी हुन् ।


उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । उनका अनुसार पछिल्लो समय जंगली च्याउ खाएर विरामी हुनेको संख्या बढिरहेको छ ।