युवालाई सिप सिकाउदै उद्यमशिलतामा जोडौंः मुख्यमन्त्री आचार्य

बर्दिया, ७ कात्तिक ।
बर्दियाको बाँसगढीमा प्रथम युवा सम्मेलन सुरु भएको छ । बाँसगढी नगरपालिकाको आयोजनामा भएको युवा सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नु भएको छ । ‘म बनाउछु मेरो पालिका, नागरिकको श्रम र पसिनाः राष्ट्र निर्माणको गहना’ भन्ने मुख्य नारा सहित सुरु भएको सम्मेलनले स्थानिय रोजगार रणनीति निर्माण गर्ने छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले युवाहरुलाई उद्यमशिलतामा जोड्नेगरी प्रदेश सरकारले तीन स्थानीय र संघीय सरकार संग समन्वय गर्ने बताउनु भयो ।‘युवाहरुको रुची र चाहना अनुसारको उद्यम, व्यवसाय सञ्चालन गर्ने वातावरण सरकारले निर्माण गर्छ । स्वदेशमै उद्यमशिलताको अवसरहरु सृजना गर्न सरकार तयार छ’उहाँले भन्नुभयो,‘सिप सिकाउने र उद्यमशिलतामा जोड्ने कुरामा हामी प्रतिबद्ध छौं । म भन्न चाहन्छु युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न तीन तहका सरकारको विचमा समन्वय र सहकार्य हुन जरुरी छ ।’ युवाहरुलाई स्वरोजगार र उद्योग व्यवसायमा संलग्न हुन मुख्यमन्त्री आचार्यले आग्रह गर्नु भयो ।‘यो मुलुकको भोली उद्योगपती बन्न सक्नुहुन्छ, त्यो हैसियतको ल्यागत राख्नुहुन्छ ।


त्यस मानेमा अग्रसर भएर लाग्नको निम्ति हार्दिक आग्रह र अनुरोध गर्न चाहन्छु’उहाँले भन्नुभयो,‘तपाईहरुको साथमा प्रदेश सरकार छ । संघीय सरकार छ र स्थानीय सरकार छ । स्थानीय सरकारले विभिन्न रचनात्मक कामहरु अगाडी बढाउदै आएको छ ।’ नगर प्रमुख खड्कबहादुर खड्काको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन गरिएको हो । सम्मेलनमा बाँसगढी नगरपालिका भित्रका पाँच सय युवाहरुको सहभागिता रहेको छ । विभिन्न बिषयमा छलफल गर्दै र योजना निर्माण गरेर सम्मेलन सकिने छ ।